विश्व बजारमा आउँदो साता सार्वजनिक हुँदै रेड्मी नोट ११ सिरिज, नेपालमा कहिले आउला ?
माघ ५, २०७८ २०:३२
काठमाडौं । साओमीले आउँदो २६ जनवरी (माघ १२ ) मा रेड्मी नोट ११ सिरिजको ग्लोबल लञ्च गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ लाइनअपको तुलनामा केही फरक विशेषतासहित यो सिरिज सार्वजनिक हुन लागेको हो ।
यसअन्तर्गत नोट ११ सिरिजको ग्लोबल इडिशनमा क्वालकम स्न्यापड्रागन चिप हुने अनुमान गरिएको छ । चिनियाँ बजारमा भने नोट ११ सिरिज मिडियाटेक चिपसेटसहित सार्वजनिक भएको थियो ।
नयाँ मोडलमा यसअघिको रेड्मी नोट १० फोनको तुलनामा परिमार्जित फिचर रहेका छन् ।
यसअघि सन् २०२१ को अक्टोबरमा रेड्मी नोट ११ फाइभजी, रेड्मी नोट ११ प्रो, रेड्मी नोट ११ प्रो प्लस सार्वजनिक भएको थियो । साथै नोभेम्बरमा रेड्मी नोट ११ फोरजी भेरियन्ट पनि सार्वजनिक भएको थियो ।
आउँदो साता ग्लोबल लञ्च गर्ने पक्का गरेको साओमीले यसअघि नै भारतमा ‘रेड्मी नाेट ११टी फाइभजी’ उपलब्ध गराइसकेको छ । अब युरोप लगायतका बजारमा नोट ११ सिरिज उपलब्ध हुने चर्चा छ । युरोपमा नोट ११ को मूल्य २५० युरोबाट सुरु हुने जनाइएको छ ।
This year, our #RedmiNote11Series is ready to #RiseToTheChallenge!
— Xiaomi (@Xiaomi) January 18, 2022
Join us to witness the launch of this legend on January 26th at 20:00 (GMT+8)! pic.twitter.com/uAhHatRcN5
१०८०*२४०० पिक्सेल रेजोलुसन भएको रेड्मी नोट ११ मा ९० हर्ज रिफ्रेश रेट युक्त फुल एचडी सपोर्ट सहितको ६.५१ इन्च सुपर एमोलेड डिस्प्ले राखिएको छ। यसले स्क्रिनलाई ४०४ पिक्सेल पर ईन्च (PPI) को पिक्सेल डेन्सिटी दिन्छ । पावर र भोलुम बटन फोनको दायाँतर्फ छन् ।
फोनमा सेल्फी क्यामेरामार्फत खुल्ने फेस अनलक र फिङ्गरप्रिन्ट सेन्सरको सुविधा छ । रेड्मी नोट ११ प्रो र ११ प्रो प्लस भेरियन्टमा १२० हर्ज रिफ्रेश रेट रहेको ६.६७ ईन्चको एमोलेड स्क्रिन राखिएको छ ।
पर्फर्मेन्स, स्टोरेज र क्यामेरा
रेड्मी नोट ११ मा मिडिया टेक डाइमेन्सिटी ८१० फाइभजी ओक्टा-कोर चिपसेट प्रोसेसर छ । एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित मियूआई संस्करणमा चल्ने नोट ११ सिरिजमा क्वाड रियर क्यामेरा अर्थात् पछाडि भागमा चार ओटा क्यामेराको सेटअप छ ।
रेड्मी नोट ११ मा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, आठ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर, समान दुई मेगा पिक्सेलका अन्य लेन्स छन् । फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्नका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
प्रो तथा प्रो प्लस भेरियन्टमा डाइमेन्सिटी ९२० चिपसेट राखिएको छ भने मेमोरीको रुपमा दुवैमा ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी गरी तीन ओटा विकल्प छन् ।
१०८ मेगापिक्सेलको मेन क्यामेरा राखिएका यी दुवै मोडेलमा दुवैमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेराको साथमा २ मेगापिक्सेलको टेलिम्याक्रो लेन्स राखिएको छ । साथमा जेबीएलको साउन्ड प्रयोग गरिएको छ ।
ब्याट्री, चार्ज र कनेक्टिभिटी
लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी नोट ११ मा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले यूएसबी टाइप सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ ।
यसैगरी ५१६० एमएएच क्षमताको ब्याट्री राखिएको रेड्मी नोट ११ प्रोमा ६७ वाटको फास्ट चार्जिङ रहेको छ । जसबाट ४३ मिनेटमा फुल चार्ज हुने कम्पनीको दाबी छ ।
त्यस्तै रेड्मी नोट ११ प्रो प्लसको सबैभन्दा आकर्षक फिचर भनेको यसमा १२० वाट फास्ट चार्जिङ दिइएको छ । जसले यसमा राखिएको ४५०० एमएएच क्षमताको ब्याट्रीलाई करिब १५ मिनेटमै फुल चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।
त्यस्तै कनेक्टिभिटीका लागि यसमा वाई-फाई, ब्लुटुथ ५ .१, फोरजी भोल्टे, यूएसबी ओटीजी र जीपीएस जस्ता सुविधाहरू छन् । डुअल नानो सिम सपोर्ट गर्ने तीनै फोनमा फाइभजी सपोर्ट पनि छ |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
