काठमाडौं । फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट स्पीडमा नेपालले छलाङ मारेको छ । ओकला स्पीड टेस्ट ग्लोबल इन्डेक्सको गत डिसेम्बरसम्मको रिपोर्ट अनुसार फिक्स्ड इन्टरनेटमा नेपालले १९ स्थान फड्को मार्दै आफ्नो स्थान सुधार गरेको हो ।
ओकलाका अनुसार पछिल्लो समय नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको औसत डाउनलोड स्पीड ४०.३७ एमबीपीएस तथा अपलोड स्पीड ३७.८१ एमबीपीएस र लेटेन्सी पाँच मिली सकेन्ड पुगेको छ । जब कि एक वर्ष अघि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटमा औसत डाउनलोड स्पीड २०.३३ एमबीपीएस तथा अपलोड स्पीड १८.८४ एमबीपीएस र लेटेन्सी छ मिली सेकेन्डका साथ नेपाल ९८ औँ स्थानमा रहेको थियो ।
स्रोतः ओकला ग्लोबल इन्डेक्स
यो सूचीमा औसत ४७.४८ डाउनलोड स्पीडका साथ भारत ६९ औँ नम्बरमा, ९.०४ एमबीपीएसका साथ पाकिस्तान १५२ औँ स्थानमा, १०.७२ एमबीपीएसका साथ भुटान १४१ औँ नम्बरमा, १०.७२ एमबीपीएसका साथ मालदिभ्स १४० औँ नम्बरमा, २०.२६ एमबीपीएसका साथ श्रीलङ्का ११३ औँ नम्बरमा, ३१.१२ एमबीपीएसका साथ बङ्गलादेश ९४ औँ नम्बरमा १५३.३३ एमबीपीएसका साथ चीन सातौँ नम्बरमा रहेको छ ।
१९२.१७ एमबीपीएस औसत डाउनलोड स्पीडका साथ सिङ्गापुर विश्वकै फास्ट इन्टरनेट हुने मुलुकको पहिलो नम्बरमा रहन सफल छ भने १.७० एमबीपीएस औसत डाउनलोड स्पीडका साथ अफगानिस्तान सूचीको अन्तिम अर्थात १७८ औँ नम्बरमा छ । सँगसँगै मोबाइल डेटा तथा इन्टरनेटमा भने नेपाल १४ स्थान पछाडि धकेलिँदै विश्वको १०५ औँ नम्बरमा पुगेको छ ।
स्रोतः ओकला ग्लोबल इन्डेक्स
ओकलाका अनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पीड १६.४५ एमबीपीएस तथा अपलोड स्पीड ११.१६ एमबीपीएस र लेटेन्सी २२ मिली सेकेन्ड रहेको छ । ओकलाको ग्लोबल इन्डेक्समा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट स्पीड टेस्टमा विश्वका १७८ देश र मोबाइल डेटाको स्पीड टेस्टमा १३८ देश सहभागी छन् ।