close

एनसेलको नयाँ डेटा प्याक, अब १५ मिनेट र २ घण्टाका लागि समेत अनलिमिटेड डेटा

टेकपाना टेकपाना

माघ १९, २०७८ १४:२९

एनसेलको नयाँ डेटा प्याक, अब १५ मिनेट र २ घण्टाका लागि समेत अनलिमिटेड डेटा

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाका ग्राहकले अब आफ्नो मोबाइल डेटा आवश्यकता पुरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याक लिनसक्ने भएका छन् ।

यसका लागि एनसेलले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ, जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र दुई घण्टाका लागि डेटा सेवा लिन सक्छन् ।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात एक घण्टाको समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो ।

आफ्ना अनलाइन गतिविधिका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकलाई यी प्याक उत्तम विकल्प हुन् ।

यस योजनामा ग्राहकले करसहित रु. १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी दुई घण्टाको डेटा प्याक रु. ३० मा लिन सक्छन् ।

यी प्याक एक्टिभेट रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् । ग्राहकले सजिलैसँग *१७१२३# डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याक लिनसक्छन् ।

यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै एक्टिभेट रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक एक्टिभेट नरहेको अवस्थामा ‘पे एज यू गो’ को दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्य गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।

कर सहित रु. २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरुले पहिला देखिनै मन पराउँदै आएका छन् । यी टाइम प्याकहरूको समयवधि ग्राहकले प्याक एक्टिभेट गरेको समयको आधारमा गणना गरिन्छ ।

उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुन्छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकले यी प्याकहरू जति पटक लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५