काठमाडौं । नयाँ इन्टरनेट प्रोटोकल (आईपी) भी-सिक्समा नेपालको स्थान सुधार भएको छ । वर्ल्डलिङ्क र क्लासिक टेकले गर्दा इन्टरनेटको नयाँ प्रविधि आत्मसाथ गर्नेमा नेपालले प्रगति गरेको हो ।
एसिया प्रशान्त क्षेत्रको इन्टरनेट एड्रेस रजिस्ट्री निकाय एप्निकको तथ्याङ्क अनुसार आईपी भी-सिक्समा नेपाल २६.०२ प्रतिशत क्यापेबलका साथ ३७ औँ स्थानमा छ । भारत ७६.४६ प्रतिशत आईपीभी सिक्स क्यापेबलसँगै सूचीको अग्र पङ्तिमा उभिएको छ ।
नेपालमा नयाँ इन्टरनेट प्रोटोकल (आईपी भी-सिक्स) प्रयोग गर्नेमा इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क र क्लासिक टेक अगाडि देखिएका छन् । एप्निकका अनुसार वर्ल्डलिङ्कको ६७.९२ प्रतिशत र क्लासिक टेकको ६२.०५ प्रतिशत ग्राहक नेटवर्क आईपी भी-सिक्सका लागि तयार भइसकेको छ ।
तर अन्य इन्टरनेट सेवाप्रदायक भने यो मामिलामा निकै पछाडि छन् । नेपाल टेलिकम र एनसेल जस्ता ठूला दूरसञ्चार कम्पनीहरू आईपी भी-सिक्स प्रयोग गर्ने मामिलामा सबैभन्दा पछाडि रहेको एप्निकले जनाएको छ ।
सेवाप्रदायक
आईपीभी-६ क्यापेबल
वर्ल्डलिङ्क
67.92
क्लासिकटेक
62.05%
सुबिसु
7.50%
वेबसर्फर
3.44%
ब्रोडलिङ्क
0.11%
भायनेट
0.09%
नेपाल टेलिकम
0.07%
एनसेल
0.06%
टेकमाइन्डस्
0.05%
डिशहोम
0.04%
सीजी
0.02%
एप्निकका अनुसार नेपाल टेलिकम र एनसेलको कूल ग्राहक नेटवर्कमा क्रमशः ०.०७ र ०.०६ प्रतिशत मात्रै आईपी भी-सिक्समा छ । अन्य इन्टरनेट सेवाप्रदायकमा सुबिसुको आईपी भी-सिक्स क्यापेबल (सक्षम) नेटवर्क ७.५० प्रतिशत रहेको छ भने भायनेटको ०.०९ प्रतिशत मात्र छ ।
यसैगरी आईपी भी-सिक्समा वेबसर्फर ३.४४ प्रतिशत, टेकमाइन्ड्स ०.०५ प्रतिशत, डिशहोम फाइबर नेट ०.०४ प्रतिशत, ब्रोडलिङ्क ०.११ प्रतिशत र सीजी नेट ०.०२ प्रतिशत छ ।
के हो आईपीभी सिक्स ?
इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेसको जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो ।
विश्वभर भी-फोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी-सिक्स विकास गरिएको थियो । आईपीभी-फोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपी भी सिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब ट्रिलियन ट्रिलियन रहेका छन् ।
आईपीभी फोर समाप्त भएता पनि अधिकांश इन्टरनेट सेवाप्रदायकहरू अहिले प्राइभेट एड्रेसिङलाई आधार मानेर नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिबाट काम चलाइरहेका छन् । विश्वप्रसिद्ध जर्नल एमडीपीआईमा प्रकाशित अनुसन्धान प्रतिवेदनले पनि नेपालको ब्रोडब्यान्ड विस्तारका लागि चालु सरकारी परियोजना तथा सेवाप्रदायकले पुराना उपकरण तथा प्रविधि प्रयोग गरिरहेको तथ्य बाहिर ल्याएको थियो ।
अनुसन्धानले परियोजना कार्यान्वयनका सन्दर्भमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नु मुलुक, जनता र सेवाप्रदायक सबैको हितमा हुने उल्लेख गरेको छ । आईपीभी सिक्सले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि युनिक राउटेबल पब्लिक एड्रेस असाइन गर्न अनुमति दिने भएकाले पनि यसको प्रयोग आवश्यक भएको हो ।
त्यतिमात्रै नभएर एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।
त्यसैले अबका दिनमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नुको विकल्प नभएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैअनुसार नेपालका इन्टरनेट सेवा प्रदायक विस्तारै आईपीभी सिक्समा जान थालेका हुन् ।
अरु सेवाप्रदायकले किन गरिरहेका छन् बेवास्ता ?
इन्टरनेट एक्सचेन्ज नेपालका एक विज्ञले यसमा अरु सेवाप्रदायकलाई मतलव नै नरहेको बताए । ‘उनीहरूले ग्राहकलाई दिने राउटरमा पनि न्याट (NAT) गरिरहेका छन् र आफ्नो नेटवर्कमा पनि न्याट गरेरै काम चलाइरहेका छन्,’ उनले भने, ‘जसले गर्दा नेटवर्क ओभरहेड बढ्छ र इन्टरनेट प्याकेट प्रसारणमा ढिलाइ हुने गर्छ ।’
आईपी भी-सिक्समा नजाँदा नेपालको इन्टरनेटको गुणस्तरमा समेत असर परिरहेको विज्ञहरूको भनाई छ । हाल नेपालमा ९० प्रतिशत इन्टरनेट सामग्री सीडीएन (कन्टेन्ट डेलिभरी नेटवर्क) बाट आउँछ ।
सबै इन्टरनेट सेवा प्रदायकले भी सिक्समा अपग्रेड गर्ने बित्तिकै ७० देखि ८० प्रतिशत ट्राफिक भी-सिक्समा आउने बताइन्छ । वाई-फाई नेटवर्कमै धेरै समस्या रहेका कारण भी-फोरको समस्या नगन्य लागेको हुनसक्ने इन्टरनेट एक्सचेन्ज विज्ञ बताउँछन् ।
भी-फोरमा रहेका आईपी एड्रेसहरू विश्वबजारमा बिक्री समेत भइरहेका हुन्छन् । जसको औसत मूल्य प्रति आईपी एड्रेस ३० डलर जति छ । यस्तोमा आईपी भी-सिक्समा जानु सेवाप्रदायकका लागि सस्तो विकल्प समेत हो ।
धेरै ठूलो नेटवर्क बनाउन चाहने सेवाप्रदायकलाई आईपी भी सिक्सको विकल्प छैन । त्यस्तै अनलाइनबाट कुनै अपराध हुँदा ट्रयाक गर्न समेत आईपी भी-फोरमा निकै कठिन हुने गर्दछ । तर आईपी भी सिक्समा भने तुरुन्तै पत्ता लाग्ने बताइन्छ ।