काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारमा बढोत्तरी भएसँगै ठगीका घटना बढेको भन्दै सजगता अपनाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सम्भावित ठगीबाट बच्न विशेष ध्यान दिन आग्रह गरेको हो ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानूनी घोषणा गरिएका काराेबारमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका गतिविधि भइरहेकाले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन जरुरी भएको राष्ट्र बैंकले जनाएको छ ।
साथै यसबाट हुने जोखिमबाट बच्न बैंकले निम्न उपाय सुझाएको छः
१. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी कोड वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।
२. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे, नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।
३. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहँदैन । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचना आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।
४. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।
५. कुनै पनि वेबसाइड मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना ‘https://’ बाट सुरु भए नभएको यकिन गर्नुपर्दछ ।
६. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।