काठमाडौं । हाम्रो दैनिक जीवनमा धेरै कुराहरू हुन्छन् । धेरै गतिविधिहरू हुन्छन्, जसले गर्दा कहिलेकाहीँ एउटा काम गर्दा अर्को महत्त्वपूर्ण कुरा भुलिरहेका हुन्छौँ ।
अनि कहिलेकाहीँ व्यवसायिक जीवनलाई प्राथमिकता दिने चक्करमा व्यक्तिगत जीवनको पाटो नै बिर्सिदिन्छौँ । हाम्रो जीवन जिउने तरिका आखिर एउटा बानी नै त हो ।
त्यही बानी व्यवहारलाई व्यवस्थापन गरेर एउटा सन्तुलित जीवन बाच्नको लागि ‘लुप ह्याबिट ट्रायकर’ नामक एपले हामीलाई मद्दत गर्न सक्छ । लुप ह्याबिट ट्रयाकर एन्ड्रोइडका प्रयोगकर्ताको लागि एउटा उपयोगी निःशुल्क एप हो ।
जसले प्रयोगकर्ताहरूको बानी अर्थात दैनिक गतिविधिलाई निगरानीमा राख्छ । तपाईँको बानी व्यवहारको तालिका र तथ्याङ्कहरूको मद्दतबाट यसले तपाईँमा सकारात्मक बानी विकास मद्दत गर्छ ।
तपाईँले यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । प्ले स्टोरमा यो एप १० लाख भन्दा बढी पटक डाउनलोड भइसकेको छ ।
तपाईँले यो एपमा आफ्ना नयाँ तथा पुराना बानी अथवा दैनिक कार्य तालिका राख्न सक्नुहुन्छ । साथै आफ्नो प्रगतिलाई तथ्याङ्क मार्फत ट्रयाक गर्न पनि सक्नुहुन्छ ।
तपाईँले आफ्नो बानी सम्झाउनको लागि रिमाइन्डर पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रत्येक बानीको लागि एउटा छुट्टै सीमा पनि तय गर्न सक्नुहुन्छ । आफ्नो फोन अनलक गर्दा आफ्नो बानी सम्झनको लागि रंगीन विजेटहरू प्रयोग गर्न सक्नुहुन्छ ।
साथै आफ्नो प्रगति विवरण हेर्न अथवा अन्य डिभाइसमा सार्न पनि सक्नुहुन्छ । यो एप अनलाइन र अफलाइन दुवै तरिकाबाट प्रयोग गर्न सकिन्छ ।
यसमा तपाईँले आफ्नो फरक बानीको लागि फरक रिमाइन्डर समय, रिमाइन्डरको दिन, रङ्ग र आफैँलाई सोधिने प्रश्न विजेटको रुपमा राख्न सक्नुहुन्छ । जस्तो कि तपाईँले हरेक दिन बिहान ८:३० बजे औषधी खानु पर्ने छ, तर प्रायः बिर्सिनु हुन्छ भने यसले तपाईँलाई मद्दत गर्न सक्छ ।
यसको लागि स्क्रिनको माथि पट्टी रहेको (+) बटनमा क्लिक गरेर बानीको नाममा औषधी राखेर समयमा हरेक दिन बिहान ८:३० बजे राख्न सक्नुहुन्छ । साथै प्रश्नमा ‘के तपाईँले औषधी खानुभयो ?’ भनेर राखेर छुट्टै रङ्गमा सेभ गरेर राख्न सक्नुहुन्छ ।
त्यसपछि हरेक दिन बिहान ८:३० बजे यो एपले तपाईँलाई ‘के तपाईँले औषधी खानुभयो ?’ भनेर रिमाइन्डर दिन्छ । यसरी तपाईँले आफूले चाहेजति गतिविधिहरू यो एपमा थप्न सक्नुहुन्छ ।
तपाईँले त्यो काम दिइएको समयमा गर्नुभयो कि भएन ? कति समय गर्नुभयो लगायतको तथ्याङ्क यो एपले तयार पारिदिन्छ ।