close

विकिपिडियामा कहाँ छ नेपाल ? 

टेकपाना टेकपाना

माघ २२, २०७८ १७:१८

विकिपिडियामा कहाँ छ नेपाल ? 

-जनकराज भट्ट

विकिपिडिया वेबमा आधारित स्वतन्त्र र खुला बहुभाषी ज्ञानकोश हो । विकिपिडिया शब्द ‘विकि’ धेरैजनाले सहकार्यमा वेबसाइट तयार गर्ने प्रविधि र ‘इन्साइक्लोपिडिया’ जोडिएर बनेको हो ।

विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू सम्पादन तथा लेखन हुन्छन् । यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जोकोहीले पनि संशोधन, परिवर्तन र परिमार्जन गर्न सक्छन् ।

विकिपिडिया तथा यसका विभिन्न भ्रातृ परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नुका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडिया फाउण्डेसन नामक संस्था कार्यरत रहेको छ ।

गैरमुनाफामुखी संस्थाको रूपमा रहेको यो फाउण्डेसनले विकिपिडियाका अन्य भ्रातृ परियोजनाहरू जस्तैः विक्सनरी (शब्दकोश), विकि समाचार (खुला– समाचार), विकिकथन (कथन भण्डार), विकिपुस्तक (खुला पुस्तक), विकिप्रजाति (प्रजाति सङ्कलन), विकिस्रोत (खुला स्रोत माध्यम), विकि भर्सिटी (विश्वकोश परिकल्पना), कमन्स (कमन मिडियाको भण्डार), मेटा (विकिमिडिया कार्यक्रम संयोजक) पनि सञ्चालन गरिरहेको छ ।

विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन् । अन्य सर्भरहरू एम्स्टड्र्याम र सउलमा छन् । सन् २००१ मा जिम्मी वेल्स र लारी स्याङ्गरले यसको सुरुवात गरेका थिए ।

हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ । नेपालमा पनि विकिपिडिया स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ ।

खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो । हाल विश्वमा सबैभन्दा धेरै हेरिने इन्टरनेट साइटमध्ये यो पनि एक हो ।

अहिलेसम्म विकिपिडिया ३०० भन्दा बढी भाषामा उपलब्ध रहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनै पनि व्यावसायिक विज्ञापन राखेको छैन ।

बिना विज्ञापनका सामग्री निशुल्करूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हो । विकिपिडियामा रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन् । विकिपिडियामा बिना कुनै पारिश्रमिक लेखरचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौँ लाख पुगिसकेको छ ।

नेपालमा विकिपिडिया 

नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरु गरिएको हो । हाल नेपाली भाषामा ३१ हजार ९३३ ओटा सानाठूला लेखहरू रहेका छन् ।

नेपालमा बोलिने भाषाहरूमा नेपाली भाषाका अतिरिक्त नेपाल भाषा (नेवारी), भोजपुरी, पाली, मैथिली, संस्कृत, अवधी र डोट्याली भाषाका विकिपिडियाहरू पनि उपलब्ध छन् भने केही अन्य भाषाका विकिपिडियाहरू पनि बन्ने क्रममा रहेका छन् । यसका साथै नेपाली भाषाको विक्सनरी (शब्दकोश) र विकिपुस्तक (खुला पुस्तक) पनि उपलब्ध रहेको छ । 

निष्कर्ष 

संसारमा करिब ७ हजार भाषाहरू बोलिन्छन्, जसमा ९० प्रतिशतभन्दा बढी भाषा बोल्नेको जनसङ्ख्या एक लाखभन्दा कम छ । युनेस्कोको तथ्याङ्कअनुसार संसारका लगभग दुई हजार पाँच सय भाषा र ती भाषासित सम्बन्धित सांस्कृतिक सम्पदा अबका केही पुस्ता भित्रै लोप हुने अवस्थामा पुगेका छन् ।

भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ । भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवसान हुन्छ ।

भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन्छ । भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ ।

भाषिक विविधता आफैँमा वैज्ञानिक खोजअनुसन्धानको विषय हो । नेपालमा बोलिने १२३ भाषाहरूमध्ये लगभग ६० प्रतिशत भाषाहरू भाषिक सम्पर्क, परिवर्तन र अपशरणका कारण लोप हुने अवस्थामा पुगेका देखिन्छन् ।

विकिपिडियालाई यी भाषाहरू जोगाउने माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ । साथै, नेपालको भाषिक एवम् सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने अवसरका रूपमा पनि ।

तपाईँले पनि आफूलाई जानकारी भएको विषयमा लेख लेखेर तथा आफ्ना गाउँठाउँका सांस्कृतिक, ऐतिहासिक सम्पदा, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्त्वका संरचनाहरू मठ– मन्दिर, दरबार, गढी, किल्ला, भवन, देवलका तस्वीरहरू अपलोड गरी उक्त सम्पदाहरूलाई संसारभर चिनाउन सक्नुहुन्छ । भाषा संस्कृति जोगाउन सकेमात्र पहिचान रहन्छ भन्नेमा कसैको दुईमत नहोला ।

-लेखक भट्ट नेपाल टेलिकमका कर्मचारी हुन् । यो सामग्री कम्पनीको स्मारिकाबाट लिइएको हो ।  स्मारिका पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२