close

यसरी हेर्नुहोस् तपाईँले अहिलेसम्म पठाएका तर एसेप्ट नभएका फेसबुक फ्रेन्ड रिक्वेस्ट

टेकपाना टेकपाना

माघ २२, २०७८ २३:४०

यसरी हेर्नुहोस् तपाईँले अहिलेसम्म पठाएका तर एसेप्ट नभएका फेसबुक फ्रेन्ड रिक्वेस्ट

काठमाडौं । सम्झिनुहोस् त, तपाईँले फेसबुक चलाउन थालेको कति भयो ? अनि तपाईँको ‘फ्रेन्ड लिस्ट’मा कति जना छन् ? यो त तपाईँले सहजै भन्न सक्ने कुरा भयो । 

फेसबुकमा साथी बन्न कि तपाईँले ‘रिक्वेस्ट’ पठाउनु भयो वा अरु कसैले पठाएको ‘रिक्वेस्ट’ तपाईँले ‘एसेप्ट’ गर्नु भयो । आखिर फेसबुकमा साथी बन्ने यसरी नै त हो ।

साथी बन्नेहरू त छँदैछन्, तर फेसबुकमा साथी बन्न चाहँदा पनि नबनेका प्रयोगकर्ता पनि थुप्रै होलान् । ‘रिक्वेस्ट’ पठाउने तरिका दोहोरो (कि त तपाईँले अरुलाई ‘रिक्वेस्ट’ पठाउनुहुन्छ कि त अरुले तपाईँलाई पठाउँछन्) भए जस्तै साथी नबन्नुका कारण पनि दोहोरै हुन्छन् । 

पक्कै पनि आफूलाई आउने सबै ‘फ्रेन्ड रिक्वेस्ट’ तपाईँ पनि ‘एसेप्ट’ गर्नुहुन्न होला । ‘एसेप्ट’ नगर्दा तपाईँ कि आएको ‘रिक्वेस्ट’ ‘डिलिट’ गर्नुहुन्छ अथवा त्यत्तिकै बेवास्ता गरेर बस्नुहुन्छ ।

बेवास्ता गर्नुको पछाडि अपरिचित व्यक्ति, परिचित भए पनि नरुचाएको वा नचाहेको व्यक्ति अथवा फेसबुकको सीमा (अधिकतम ५००० को सीमा) नाघिसकेको अवस्था आदि अनेक कारण हुन सक्छन् । कति त धेरै ‘रिक्वेस्ट’ आउँदा व्यस्तताले हेर्न नपाएका पनि होलान् ।

कारण जे भए पनि यसरी आफूले बेवास्ता गरेका वा पेन्डिङ (डिलिट पनि नगरिएका र ‘एसेप्ट’ पनि नगरिएका) अवस्थामा रहेका ‘फ्रेन्ड रिक्वेस्ट’को सूची तपाईँले बेलाबेलामा देखिरहनु भएकै होला । ठीक त्यसैगरी तपाईँले पठाएका कति त्यस्ता रिक्वेस्ट होलान्, जुन तपाईँले बेवास्ता गरेजस्तै अरुले पनि मतलव नगरेका होलान् ।

आफूले पठाएको ‘रिक्वेस्ट’ लामो समयसम्म ‘एसेप्ट’ नभई बेवास्तामा परेको थाहा पाउँदा पक्कै पनि तपाईँलाई राम्रो नलाग्न सक्छ । अब यहाँनिर तपाईँलाई पक्कै पनि लागेको हुनुपर्छ, ‘ती को हुन्, जसले मेरो ‘रिक्वेस्ट’ बेवास्ता गरेका छन् ?’ हुन त सम्झिएसम्म तपाईँले ‘रिक्वेस्ट’ पठाएको व्यक्तिको नाम सर्च गरेर प्रोफाइलमा गएर पनि हेर्न सक्नुहुन्छ ।

तर यसरी महिनौँ वा वर्षौँ अघि पठाइएका ‘रिक्वेस्ट’को अवस्था खोतल्न सम्भव नहोला । त्यसैले आज हामी तपाईँले पठाएका त्यस्ता ‘फ्रेन्ड रिक्वेस्ट’, जुन अहिलेसम्म ‘एसेप्ट’ भएका छैनन्, त्यो एकै ठाउँमा कसरी हेर्ने भन्ने बारेमा बताउँदै छौँ । 

हुन त तपाईँले पठाएको ‘रिक्वेस्ट एसेप्ट’ नहुनुमा बेवास्ता मात्र नभई माथि भनिए जस्तै अन्य विविध कारण पनि हुनसक्छन् । यस्तै तपाईँले ‘रिक्वेस्ट’ पठाएका कतिपय आईडी निस्क्रिय भएका पनि हुनसक्छन् । त्यस बाहेक केही त आफूबाट झुक्किएर गएका ‘रिक्वेस्ट’ पनि होलान् । 

एकै ठाउँमा कसरी हेर्ने आफूले पठाएका तर ‘एसेप्ट’ नभएका ‘फ्रेन्ड रिक्वेस्ट’ ?

१. यसका लागि सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा फेसबुक एप खोल्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन धर्सा भएको मेनु बारमा जानुहोस् । 

२. अब केही तल तपाईँले ‘फ्रेन्ड्स’ (Friends) लेखिएको देख्न सक्नुहुन्छ, त्यसमा थिच्नुहोस् ।

३. त्यहाँ तपाईँले आफूलाई आएका ‘फ्रेन्ड रिक्वेस्ट’को सूची देख्न सक्नुहुनेछ । त्यसमा ‘फ्रेन्ड रिक्वेस्ट्स’ (Friend Requests) को ठीक दायाँ तर्फ रहेको सी अल (See All) मा दबाउनुहोस् । 

४. यति गरिसकेपछि सिरानीमा रहेको ‘रिक्वेस्ट्स’ (Requests) को ठीक दायाँतर्फ रहेको तीन थोप्ला भएको बटनमा ट्याप गर्नुहोस् र स्क्रिनको तल पुछारमा देखिने भ्यु सेन्ट ‘रिक्वेस्ट्स’ (View sent request) मा दबाउनुहोस् । 

५. अब त्यहाँ तपाईँले अहिलेसम्म अरुलाई पठाएका तर ‘एसेप्ट’ नभएका ‘फ्रेन्ड रिक्वेस्ट’को सङ्ख्या सहितको सूची देखिनेछ । त्यसबाट तपाईँले ‘रिक्वेस्ट’ ‘क्यान्सिल’ (रद्द) वा यत्तिकै रहन दिने भनेर तय गर्न सक्नुहुनेछ । 

६. यस बाहेक तपाईँले यहाँ क्लिक गरेर समेत सोझै पठाइएका तर ‘एसेप्ट’ नभएका ‘फ्रेन्ड रिक्वेस्ट’को सूची देख्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२