close

अनलाइनमा बाल सुरक्षा सम्बन्धी भिडिओ प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

माघ २५, २०७८ १३:२६

अनलाइनमा बाल सुरक्षा सम्बन्धी भिडिओ प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनमा बाल सुरक्षा सम्बन्धित भिडिओ प्रतियोगिता आयोजना गर्ने भएको छ । सिर्जनशील समाज नेपालसँग संयुक्त आयोजनामा प्राधिकरणले यो प्रतियोगिता गर्न लागेको हो ।

साथै प्रतियोगिताका लागि राष्ट्रिय बाल अधिकार परिषद्सँग र नेट फर अलायन्ससँग सहकार्य गरिएको छ । प्राधिकरणले आज अर्थात फेब्रुअरी ८ तारिखमा विश्वभर मनाउँदै आएको ‘सेफर इन्टरनेट डे’ लाई लक्षित गर्दै यो प्रतियोगिता अघि बढाएको हो ।

प्रतियाेगितामा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन पाउनेछन् । सातै प्रदेशका बालबालिकालाई समेट्ने गरी प्राधिकरणले यो प्रतियोगिता अघि बढाएको छ ।

प्राधिकरणका अनुसार यस प्रतियोगिताका लागि अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाइन बाल सुरक्षा बाल क्लब, स्थानीय तह, सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यास, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर, विकासमा सूचना, सञ्चार तथा प्रविधिको भूमिकामध्य कुनै एक वा एकभन्दा बढी विषयमा भिडिओ बनाउन सक्नेछन् ।

यसरी भिडिओ बनाउँदा भिडिओ बढीमा दुई मिनेटको हुनुपर्ने र एमपीफोर फर्म्याटमा उपलब्ध गराउनुपर्ने जनाइएको छ । यसरी भिडिओ बनाएर सहभागी हुन चाहनेले प्रदेश अनुसार तोकिएको ईमेलमा भिडिओ पठाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

यसरी प्राप्त भएको भिडियोमा विशेषज्ञ समितिले मूल्यांकन गरी प्रत्येक प्रदेशबाट प्रत्येक विषयमा उत्कृष्ट एक भिडिओ छनोट गरी पुरस्कार प्रदान गरिने प्राधिकरणले जनाएको छ । यसमा सहभागी हुनका लागि फागुन २ गतेसम्म भिडिओ पठाइसक्नुपर्ने जनाइएको छ ।

Notice-for-Video-Competition

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२