close

टिकटकमा भाइरल हुने मन छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ २५, २०७८ १५:४१

टिकटकमा भाइरल हुने मन छ ? यसो गर्नुहोस्

काठमाडौं । टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ ।

विशेषगरी कोभिड महामारी सुरु भएपछि टिकटक क्रेज ह्वात्तै बढेको हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । याे एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ ।

टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् ।

टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर-किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् ।

यसमा सरसफाइ, खाना पकाउने, घरपालुवा जनावरको ख्याल राख्ने वा चित्र बनाउने भिडिओहरू समावेश हुन सक्छन्, जहाँ क्रियटरहरूले विभिन्न सुझाव वा अन्य थप कुराहरू शेयर गरिरहेका हुन्छन् ।

यस्ता भिडिओहरू कसरी भाइरल भए होलान् भन्ने सोचमा हुनुहुन्छ भने आज स्मल बिजनेस ट्रेन्डले प्रस्तुत गरेका केही उपाय उल्लेख गर्दैछौं । 

१. भिडिओको समय सीमित गर्नुहोस् 

अहिलेको डिजिटल उपभोक्ताहरूको समयलाई हेर्ने हो भने उनीहरू एउटा सामग्रीको लागि धेरै समय दिन चाहँदैनन् । कुनै भिडिओमा राम्रो सामग्री दिइएको छ भने पनि त्यो भिडि‌ओ धेरै लामो छ भने सबैलाई त्यसलाई रुचाउँदैनन् ।

विशेषगरी मनोरञ्जनको कुरामा दर्शकहरूको आकर्षण एकैछिनमा परिवर्तन हुन्छ । यस्तोमा टिकटकले पनि भिडिओ‌को समयसीमा तोकेको छ । त्यसैले जति नै छोटो तर सिर्जनात्मक भिडिओ बनाउनुहुन्छ, तपाईंको भिडिओ त्यति नै धेरै प्रयोगकर्ताले हेर्ने सम्भावना हुन्छ ।

२. अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा पनि भिडिओ शेयर गर्नुहोस्

टिकटकको व्यापक लोकप्रियताका कारण छोटो भिडिओको प्रवृत्ति सबै सामाजिक सञ्जालमा पनि प्रचलित भएको देख्न सकिन्छ । आज, फेसबुक, इन्स्टाग्राम र युट्युवजस्तो प्लेटफर्मले पनि छोटो भिडिओ सामग्रीको प्रचार गरिरहेका छन् ।

अन्य सामाजिक सञ्जालका प्लेटफर्महरूमा आफ्नो टिकटक भिडिओलाई क्रस-प्रमोट गरेर तपाईंले आफ्नो पहुँच बढाउन सक्नुहुन्छ । 

३. निरन्तर भिडिओ पोस्ट गर्नुहोस 

यदि तपाईंको भिडिओ धेरैजनामा पुगोस् भन्ने चाहनुहुन्छ भने भिडिओ निरन्तर पोस्ट गर्नुहोस् । अथवा भिडिओ राख्ने समय छुट्टाउन सक्नुहुन्छ ।

धेरै फलोअर भएका प्रयोगकर्ताले भिडिओ निरन्तर रुपमा राख्ने गर्छन् । किनभने टिकटकको अल्गोरिदमले पनि साइटमा धेरै ट्राफिक ल्याउनसक्ने कन्टेन्ट क्रिएटरहरूलाई नै प्रोमोट गर्ने गर्छ ।

यसको अर्थ प्रत्येक घण्टामा भिडिओ पोस्ट गर्नुपर्छ भन्ने होइन । तर कम्तिमा एक दिनमा एउटा भिडिओ पनि राख्नुभयो भने अन्य प्रयोगकर्ताले प्रत्येक समय टिकटक खोल्दा नयाँ भिडिओ स्क्रिनमा देख्न सक्छन् र फलो गर्न पनि रुचाउँछन् । 

४. नयाँ ट्रेन्ड फलो गर्नुहोस् 

हरेक हप्ता टिकटकमा केही न केहि नयाँ ट्रेन्ड आइरहेको छ । ट्रेन्डमा आएका गीत, अडियाे (आवाज), नृत्य अथवा अन्य कुनै ट्रेन्डमा आएका गतिविधिलाई फलो गर्ने गर्नुहोस् ।

नयाँ ट्रेन्डमा आएका भिडिओहरू नै प्रायः भाइरल हुने गरेका छन् । यसका लागि टिकटकमा नयाँ ट्रेन्ड के छ भनेर टिकटककै ‘डिस्कभर’ अप्सनमा हेर्न सकिन्छ । त्यहाँ सबैभन्दा चलेको ह्यासट्याग, धैरै चलेको गीत, आवाज भेट्न सकिन्छ, जसमा भिडिओ बनाउन सक्नुहुन्छ । 

५. सान्दर्भिक ह्यासट्यागहरू प्रयोग गर्नुहोस्

आजको दिनमा सामाजिक सञ्जालमा ह्यासट्यागको निकै महत्त्व छ । ह्यासट्यागले तपाईंको भिडिओको र्‍याकिङ सुधार गर्न अथवा धेरै प्रयोगकर्ता सम्ममा भिडिओ पुग्नको लागि मद्दत गर्छ । यसले तपाईंको भिडिओ थप बुस्ट हुन सहयोग पुग्छ । त्यसैले ह्यासट्याग प्रयोग गर्न नभुल्नुहोस् । 

६. निष्कृय नबस्नुहाेस् 

सामाजिक सञ्जालका अन्य प्लेटफर्म जस्तै टिकटकमा कमेन्ट गर्ने, अन्तरक्रिया गर्ने विकल्प छ । यदि तपाईं फलोअर बढाउन चाहनुहुन्छ भने तपाईंले टिकटकमा निष्कृय भएर अरुको भिडिओ मात्र हेरेर बस्नु उचित हुदैँन ।

यसको लागि तपाईंले अरूको भिडिओहरूमा पनि कमेन्ट गर्ने, आफ्नो भिडिओमा आएका कमेन्टहरूमा रिप्लाइ दिने, लाइक गर्ने गर्नु जरुरी छ । यसले तपाईंको फलोअर बढाउन मद्दत गर्छ । 

७. अन्य कन्टेन्ट क्रियटरसँग सहकार्य गर्नुहोस् 

यदि तपाईं आफ्नो फलोअर बढाउन चाहनुहुन्छ भने इन्फ्लुएन्सर (लोकप्रिय व्यक्तिहरू) हरूसँग सहकार्य गरेर भिडिओहरू बनाउने गर्नुहोस् ।

इन्फ्लुएन्सहरूको भिडिओ लाइक गर्ने, कमेन्ट गर्ने, डुएट भिडिओ बनाउने गर्दा पनि धेरै प्रयोगकर्तामा तपाईंको भिडिओ पुग्नसक्छ । साथै धेरै फलोअर भएका प्रयोगकर्ताहरूसँग मिलेर भिडिओ बनाउन पनि सक्नुहुन्छ ।  यसले तपाईंको फलोअर बढाउन पनि मद्दत गर्छ । 

८. डुएट भिडिओहरू बनाउनुहोस् 

टिकटकमा भएको डुएट फिचरले तपाईंलाई अन्य प्रयोगकर्ताहरूको सामग्रीमा प्रतिक्रिया दिन डुएट भिडिओ बनाउने व्यवस्था गरेको छ । यसको तपाईंले भरपुर फाइदा उठाउन सक्नुहुन्छ ।

आफ्नो पनि डुएट फिचर अन गर्न सक्नुहुन्छ ताकी अन्य प्रयोगकर्ताले पनि तपाईंसँग डुएट गर्न सकोस । साथै अरूहरूको भिडिओमा डुएट गर्दा पनि तपाईंको भिडिओमा भ्युज बढ्न सक्छ । 

९. स्टोरी टेलिङमा ध्यान दिनुहोस्

भिडिओको क्वालिटि राम्रो बनाउनको लागि विभिन्न डिभाइसहरू प्रयोग गर्नुहुन्छ र माथि उल्लेखित उपायहरू पनि अपनाउनु भएको छ तर पनि तपाईंको भिडिओमा भ्युज कम छ भने बुझ्नुहोस् तपाईंको भिडिओ सामग्री ठीक छैन ।

स्टोरी टेलिङ अर्थात भिडिओमा प्रस्तुत हुने सामग्रीले पनि भ्युज बढाउनमा धेरै मद्दत गर्छ । यसको लागि तपाईं नयाँ नयाँ कथाहरू प्रस्तुत गर्न सक्नुहुन्छ ।

अथवा आफ्नै भिडिओलाई विभिन्न भागमा श्रङखलाबद्ध रुपमा पोस्ट गर्न सक्नुहुन्छ । जति राम्रो सामग्री पोस्ट गर्न सकियो त्यति नै धेरै भ्युज बढ्न सक्छन् । 

१०. आफ्नो फरक ट्यागलाइन बनाउनुहोस् 

यदि तपाईं कुनै एउटा मात्र भिडिओको लागि भाइरल हुन चाहनुहुन्न र प्रयोगकर्ताको मन जितेर भाइरल हुन चाहनुहुन्छ भने आफ्नो एउटा फरक ट्यागलाइन सहितको भिडिओ सामग्री तयार गर्ने गर्नहोस् ताकी तपाईंको आफ्नो नियमित फलोअर हुन् ।

जस्तो कि कुनै टिप्सको भिडिओहरू बनाउन सक्नुहुन्छ अथवा कुनै श्रंखलाबद्ध कथा बनाउन सक्नुहुन्छ वा केही उपयोगी जानकारीहरू दिने गर्नुहोस् । यसले गर्दा तपाईंको नियमित भिडिओ हेर्नको लागि मान्छेहरू पर्खाईमा बस्छन् । 

११. भिडि‌ओ पोस्ट गर्ने सही समय छनौट गर्नुहोस् 

सहि समयमा भिडिओ पोस्ट गर्नु पनि एउटा राम्रो उपाय हो । भिजिटरहरू कुन समयमा सबैभन्दा बढि टिकटकमा हुन्छन् भन्ने थाहा पाई सोहि समयमा भिडिओ पोस्ट गर्दा तपाईंको भिडिओमा भ्युज बढ्नसक्छ ।

जस्तो काम सकिएपछि, छुट्टीको दिनमा, अथवा बिहानको समयमा धेरै प्रयोगकर्ताहरू टिकटकमा हुन्छन् । यस्तो समयलाई हेरेर भिडिओ पोस्ट गर्दा भ्युज बढ्ने सम्भावना पनि धेरै हुन्छ । 

१२. आफ्नै अडियो प्रयोग गर्नुहोस् 

तपाईंको आफ्नै अडियोले तपाईंलाई आफ्ना फलोअरसँग अझ नजिक हुन मद्दत गर्न सक्छ।  टिकटक अल्गोरिदमले आवाजमा भएका शब्दहरूको आधारमा पनि भिडिओ बुस्ट गर्ने गर्छ । यस्तोमा तपाईंले आफ्नै अडियाे दिँदा तपाईंको भिडिओमा धेरै भ्युज आउन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२