close

निर्वाचन अघि देशभरका सबै मतदान स्थलमा इन्टरनेट सेवा पुर्‍याउँदै सरकार

टेकपाना टेकपाना

माघ २५, २०७८ १८:४६

निर्वाचन अघि देशभरका सबै मतदान स्थलमा इन्टरनेट सेवा पुर्‍याउँदै सरकार

काठमाडौं । सरकारले देशभरका सम्पूर्ण मतदान स्थलमा उच्च  गतिको इन्टरनेट सुविधा पुर्‍याउने भएको छ । निर्वाचन आयोगको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो ।

मन्त्रिपरिषद्ले आगामी २०७९ वैशाख ३० गतेका दिन देशभरका सबै ७५३ ओटै स्थानीय तहमा एकसाथ निर्वाचन गर्ने घोषणा गरेको छ । त्यसैअनुरूप देशभरका सम्पूर्ण मतदान स्थलमा इन्टरनेट पुर्‍याउन लागिएको हो ।

त्यसो त नेपाल दूरसञ्चार प्राधिकरणको ब्रोडब्यान्ड परियोजना अन्तर्गत देशभरका सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने काम सम्पन्न हुने चरणमा छ । यस्तोमा कति निर्वाचन स्थलमा इन्टरनेट पुग्न बाँकी छ भन्ने कुरा यकिन हुन बाँकी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वाधार महाशाखा प्रमुख सुरेन्द्रलाल हाडाका अनुसार अधिकांश मतदान स्थलमा इन्टरनेट पुगिसकेको छ । ‘बाँकी रहेका मतदान स्थलमा विशेष कार्यक्रम बनाएर इन्टरनेट जडानको काम अगाडि बढाउँदै छौँ,’ उनले भने, ‘अप्टिकल फाइबर र फोरजी सेवा समेत नपुगेका मतदान केन्द्रमा भी-स्याटबाट भए पनि इन्टरनेट पुर्‍याउने हाम्रो योजना छ ।’

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले आगामी निर्वाचनका क्रममा सूचना प्रविधिको प्रयोग गरी मतदानलाई निष्पक्ष र व्यवस्थित बनाउने योजना रहेको बताए ।

‘निर्वाचनमा कहाँ कसरी सूचना प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा हामी अहिले छलफलकै क्रममा छौँ,’ उनले टेकपानासँगको कुराकानीमा भने, ‘त्यसमा सिसिटिभी प्रयोग गर्ने, निर्वाचनको नियमित रिपोर्टिङ गर्ने र विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने आदि विषयमा विचार गरिरहेका छौ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२