close

अनलाइनबाटै ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने बाटो खुल्यो, ई-सेवा र खल्तीलाई स्वीकृति

टेकपाना टेकपाना

माघ २७, २०७८ १६:५७

अनलाइनबाटै ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने बाटो खुल्यो, ई-सेवा र खल्तीलाई स्वीकृति

काठमाडौं । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो ।

यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा वेबसाइटबाट ब्लुबुक नवीकरण गर्न सकिने सेवा सुरु हुँदैछ । तर लाइसेन्स नवीकरणका लागि आवश्यक सफ्टवेयर सिस्टम तयार नभइसकेकाले त्यसका लागि थप समय लाग्ने बताइएको छ ।

नागरिक एपले अनलाइनबाट बागमती प्रदेशबाट जारी सवारीचालक अनुमतिपत्र नवीकरण गर्न सकिने गरी सिस्टम डेभलपमेन्टको काम सुरु भइसकेको जनाएको छ । मन्त्रालयले बिहीबार अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने विषयमा पत्राचार गरेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि श्रम मन्त्रालयलाई सहमति दिएको थियो । यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको हो ।

लाइसेन्स नवीकरण सुविधा आउन केही समय लाग्ने भए पनि नागरिक एपमै आफ्नो सवारीचालक अनुमतिपत्र लिङ्क गर्न सकिने सुविधा भने आगामी अपडेटमा उपलब्ध गराइने बताइएको छ ।

यससँगै लाइसेन्सलाई पनि हाल राहदानी, नागरिकता र मतदाता परिचयपत्रलाई नागरिक एपमा खाता खोल्ने आधारभूत कागजात सरहको मान्यता दिने विषयमा समेत गृहकार्य भइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२