काठमाडौं । दूरसञ्चार सेवा शुल्क तथा टेलिफोन स्वामित्व शुल्क मार्फत आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा साढे पाँच अर्ब राजश्व संकलन भएको छ ।
अर्थ मन्त्रालयले बिहीबार प्रस्तुत गरेको चालू आवमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार दूरसञ्चार सेवा तथा टेलिफोन स्वामित्व शुल्क मार्फत उक्त राजश्व संकलन भएको हो ।
प्रतिवेदन अनुसार दूरसञ्चार सेवा शुल्कमार्फत चार अर्ब ८५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.२५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिना अर्थात पुससम्म कुल चार अर्ब ४४ करोड राजश्व संकलन भएको थियो । पछिल्लो समय दूरसञ्चार सेवाको खपत बढ्दै जाँदा त्यसबाट उठ्ने राजश्वमा पनि वृद्धि हुँदै गएको छ ।
यसका साथै पुससम्म टेलिफोन स्वामित्व शुल्क ७१ करोड रूपैयाँ उठेको छ । प्रतिवेदनका अनुसार टेलिफोन स्वामित्व शुल्क गत आवको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएकाे छ ।
गत आवको पहिलो ६ महिनामा टेलिफोन स्वामित्व शुल्क मार्फत कुल ६७ करोड राजश्व संकलन भएको थियाे ।