काठमाडौं । ‘क्युबोट’ नामको पुरानो मालवेयर यतिबेला फेरि चर्चामा छ । विशेषगरी विन्डोज डिभाइसलाई लक्षित गर्दै यो मालवेयरबाट ह्याकरले प्रयोगकर्ताका डेटा पहुँचमा लिन गरेको एक अध्ययनले खुलासा गरेको छ ।
सो अध्ययन अनुसार डिभाइसमा प्रवेश गरेको ३० मिनेटको अवधिमै मालवेयरले डिभाइसमा रहेका व्यक्तिगत जानकारी संकलन गर्नसक्छ ।
सुस्त गतिको मालवेयरको रुपमा चिनिँदै आएको क्युबोट पछिल्लो समयमा भने शक्तिशाली बन्दै गएको अध्ययनले उल्लेख गरेको छ ।
हालै सार्वजनिक भएको ‘डीएफआईआर रिपोर्ट’ का अनुसार क्युबोट छिटो रुपमा डेटा थुत्न सक्ने क्षमताका सहित सन् २०२१ को अक्टोबरदेखि पुनः क्रियाशील छ । जसले आउटलुकमार्फत् प्रयोगकर्ताको ब्राउजर डेटा र ईमेल ३० मिनेटमै चाेर्न सक्छ ।
त्यतिमात्रै नभएर जब डेटा संकलन गर्छ, तब डिभाइसबाट मालवेयर स्वतः आउट हुन्छ । यसरी डिभाइसमा पहुँच कब्जा गरी डेटा संकलन गरेर बाहिरिने प्रक्रियाका लागि उक्त मालवेयरलाई जम्मा ५० मिनेट लाग्ने प्रतिवेदनमा उल्लेख छ ।
यो मालवेयर हाल अमेरिका, चीन, युरोप लगायतका देशमा देखापरिरहेको छ । सुरुवाती चरणमा अमेरिकामा फेला परेको यो मालवेयर विस्तारै अन्य मुलुकमा समेत देखिन थालेको सो अध्ययनले जनाएको छ ।