काठमाडौं । गुगलले पछिल्लो समय गुगल मिटलाई प्राथमिकता दिएसँगै केही समययता गुगल डुओमा कुनै अपडेट उपलब्ध भएको छैन । तर, अब भने डुओमा पनि केही नयाँ फिचर उपलब्ध हुने भएको छ ।
गुगलले यसअघि गुगल मिटमा उपलब्ध केही राम्रा फिचरलाई गुगल डुओमा उपलब्ध गराउन थालेकाे छ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्तामाझ गुगल डुओको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
एक्सडीए डेभलपरका अनुसार गुगल डुओमा यसअघि गगल मिटमा प्रयोगकर्ताले प्रयोग गरिसकेका फिचर उपलब्ध छन् । त्यसमध्ये एउटा ‘ब्रेकआउट रुम’ हो ।
गुगल मिटमार्फत अनलाइन कुराकानी गरिसकेका प्रयोगकर्ताका लागि यो फिचर नयाँ होइन । यसले भिडिओ च्याट मोडरेटरलाई मिटिङमा सहभागीहरूलाई विभिन्न साना-साना समूहमा विभाजन गर्न अधिकार दिन्छ ।
यो फिचर विशेषगरी ३२ जनाभन्दा बढी प्रयोगकर्ता भएको खण्डमा उपयोगी हुनेछ । अथवा कुनै ग्रुपमा टिम छुट्याएर काम गर्नुपरेको अवस्थामा यो फिचरले मद्दत गर्नेछ ।
यो फिचर गुगल मिटमा सन् २०२० देखि नै उपलब्ध थियाे । यसका साथै कस्टम ब्याकग्राउण्ड, एटेन्डेन्स ट्रयाकिङ जस्ता केही फिचर पनि गुगल डुओमा थप भएको जनाइएको छ ।
यसअघि कम्पनीले गुगल डुओ र गुगल मिटलाई एउटै एपमा विकास गर्ने पनि हल्ला चलेको थियो ।
तर, हालै गुगल डुओमा नयाँ अपडेट उपलब्ध भएसँगै कम्पनीकाे उक्त योजनामा कुनै सत्यता नभएको आँकलन गर्न सकिन्छ ।