काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताका लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।
आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनमा बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा सुरु गरेको हो ।
अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरण अनलाइन ‘भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ ।
एक पटक दर्ता प्रक्रिया पुरा भएपछि प्रयोगकर्ताले अब निम्न चरण प्रयोग गरेर ब्लुबुक नवीकरण गर्न सक्छन्:
– खल्ती एपभित्र भएको ‘गभर्मेन्ट सर्विसेस’ मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गर्नुहोस् । -आवश्यक विवरण भरी भुक्तानी गर्न अगाडि बढ्नुहोस् ।
नयाँ प्रयोगकर्ता वा पहिलो पटक यो सेवा प्रयोग गर्न लागेका व्यक्तिलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि एपमै उपलब्ध गराइएको छ ।
भुक्तानी गर्ना साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ । भने भीआरएसद्वारा उपलब्ध गराइने बिल प्रयोगकर्ताले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्ने जनाइएकाे छ ।
खल्ती होमपेजको ट्रान्ज्याक्शनमा गई दुवै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाका लागि ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्न अनुरोध गरिएको छ ।