close

जेनेस सोलुसनमा भित्रियो १२ करोड लगानी, नेपालमै दक्ष जनशक्ति विकास गर्ने लक्ष्य

टेकपाना टेकपाना

फागुन ४, २०७८ १७:४४

जेनेस सोलुसनमा भित्रियो १२ करोड लगानी, नेपालमै दक्ष जनशक्ति विकास गर्ने लक्ष्य

काठमाडौं । बिजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर (१२ कराेड ६० हजार रूपैयाँ बढी) लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेसले दुई चरणमा याे लगानी प्राप्त गरेको हो ।

बिजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरणकाे लगानी गरेको थियो । आशाजनक प्रतिफल र सम्भावना भएका कारण जेनेसलाई विश्वभर डिजिटल रुपान्तरणको उदयीमान कम्पनीको रुपमा स्थापित गराउन थप लगानी प्राप्त भएकाे जनाइएकाे छ ।

बिजनेश अक्सिजन नेपालकै पहिलो ‘प्राइभेट इक्विटी फन्ड’ हो । यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी) को ग्लोबल एसएमई भेन्चर इनिसिएटिभको एउटा अंगसमेत हो ।

यसमा आईएफसीको वर्ल्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फन्ड (पीपीसीआर) र एफसीडीओको लगानी छ । यो लगानीलाई ह्वाइट लोटस सेन्टर प्रालिको सहायक कम्पनी डब्लूएलसी भेन्चर प्रालिले व्यवस्थापन गरेको हो ।

‘बिजनेश अक्सिजनबाट दोस्रो चरणको लगानी भित्र्याउन पाउँदा हामी हर्षित छौं । यसले हामी सही मार्गमा रहेको देखाउँछ । यो लगानीले हामीलाई अझै बलियो र प्रतिष्पर्धी टिम बनाउन सहयोग गर्नेछ,’ जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अञ्जनी फुयाल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य नेपालमा बलियो प्रविधिक संशाधन विकास गरी डिजिटल रुपान्तरणमा सहयोगी बन्नु हो ।’

बिजनेश अक्सिजनबाट लगानी आएसँगै जेनेसले आफूलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा ध्यान केन्द्रित गर्नेछ । नेपालमा आउने लगानीलाई हाम्रा जनशक्तिको क्षमता अभिवद्धि र यहीँ अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी प्राविधिक जनशक्ति विकास गर्ने कार्यमा प्रयोग गर्ने जेनेसकाे याेजना छ ।

जेनेसले हालसम्म नेपाल र अन्य मुलुकमा गरी एक हजार बढी व्यवसायको डिजिटल रुपान्तरणमा सहयोग गरेकाे दावी गरेकाे छ ।

नेपालसहित आठ मुलुकमा यसका कार्यालय छन् । क्लाउड सेवासँगै जेनेसले उच्चस्तरको डेटा सेक्युरिटी अडिट र डिजिटल मार्केटिङमा पनि सेवाग्राहीलाई सहयोग गरिरहेको छ ।

‘आईटी उद्योगले पछिल्लो समय निकै फस्टाएको क्षेत्र हो, महामारीको समयमा यसको महत्व अझै बढी देखिएको छ ।

‘अब हरेक व्यवसाय र संस्थाले प्रविधिसँग जोडिनुको विकल्प छैन,’ बिजनेश अक्सिजन प्रालिका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिद्धार्थराज पाण्डे भन्छन्, ‘जेनेसमा हाम्रो लगानीले यसको टिममा हाम्रो विश्वासलाई देखाउँछ । नेपाललाई बलियो आईटी हब बनाउने जेनेसको उद्देश्यमा सहभागी बन्न पाउँदा खुशी छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२