काठमाडौं । एप्पलले आफैंले निर्माण गरेको चिप ‘एम टु’ मा आधारित भएर यो वर्ष चारवटा म्याकबुक सार्वजनिक गर्ने तयारी गरेको छ ।
विश्व बजारमा म्याकबुकको माग बढ्दै गएको हालको अवस्थामा कम्पनीले एकैपटक चारवटा मोडलमा म्याक सार्वजनिक गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गका अनुसार कम्पनीले १३ इन्चमा म्याकबुक प्रो, म्याक मिनी, २४ इन्चमा आईम्याक र म्याक एयर नयाँ डिजाइनका साथ सार्वजनिक गर्ने तयारी गरेको छ ।
यी सबैमा कम्पनीको आफ्नै ‘एम टु’ चिप प्रयोगमा आउने अनुमान गरिएको छ । यसअघि इन्टेलको चिप आधारित भएर कम्पनीले म्याकबुक सार्वजनिक गर्दै आएको थियो ।
गत वर्षबाट भने कम्पनीले आफ्ना केही मोडलमा ‘एम वान’ चिप प्रयोगमा ल्याएको थियो । ‘एम टु’ चिप एम १ को तुलनमा निकै नै प्रभावकारी रहेको दाबी कम्पनीले गर्दै आएको छ ।
हुन त इन्टेलका चिप प्रयोग भएको म्याकबुकको तुलनामा एम वान चिप प्रयोग भएका म्याकबुक निकै प्रभावकारी रहेको यसअघिका प्रतिवेदनले देखाएको थियो ।
यस्तोमा कम्पनीले अब भने त्यसलाई पूर्ण रुपमा विस्थापित गर्दै आफ्नै चिप प्रयोगमा ल्याउने तयारी गरेको देखिन्छ ।