काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । यदि जारी युद्ध लामो समयसम्म चलेको खण्डमा यसको असर दुई देशमा मात्र सीमित हुने छैन ।
युद्धका कारण विश्वभर स्मार्टफोन,ल्यापटप र विद्युतीय कार जस्ता उत्पादनको मूल्य बढ्न सक्ने आँकलन गरिएको छ । किन भने दुई देश बीचको युद्धका कारण चिपसेटको कमी थप गहिरिनेछ र जसका कारण स्मार्टफोन,ल्यापटप र विद्युतीय कारको उत्पादनमा कटौती हुनेछ ।
रोयटर्सको एक रिपोर्ट अनुसार युक्रेनबाट अमेरिकाले ९० प्रतिशत सेमिकन्डक्टर ग्रेड नियोन आयात गर्दछ । सँगसँगै रुसबाट समेत अमेरिकाले ३५ प्रतिशत प्यालेडियम आयात गर्दछ ।
यी दुवै उत्पादन चिपसेट निर्माणका लागि महत्त्वपूर्ण मानिन्छन् । विश्वभर रुसको निर्यातले ४५ प्रतिशत हिस्सा ओगट्छ । युक्रेन र रुसबाट निर्यात हुने निर्यात रोकिँदा सेन्सर तथा मेमोरी निर्माणको काम समेत रोकिन सक्छ ।
साथै युक्रेन र रुसबाट निर्यात हुने धातुको निर्यात पनि बन्द हुँदा चिपसेट निर्माण नै रोकिन सक्छ । यी सबै कारणले गर्दा सेमिकन्डक्टर बनाउने कारोबार अवरुद्ध हुनसक्छ ।
चिप बनाउने एक जापानी कम्पनीले पहिले देखि नै यी सामग्रीको आपूर्ति कम रहेको बताएको छ । यस्तोमा युद्धको अवस्थाले गर्दा आपूर्ति प्रणाली पूर्ण रुपमा बन्द हुनसक्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।
जसले गम्भीर संकट पैदा गर्न सक्छ । यस्तोमा चिपको मूल्य निकै बढ्न सक्छ । सेमिकन्डक्टरको अर्थ अर्धचालक हुन्छ । यसको प्रयोग विद्युतीय करेन्ट नियन्त्रित गर्ने कार्यमा हुन्छ । सेमिकन्डक्टर सिलिकनबाट बनाइन्छ ।
विद्युत नियन्त्रणका लागि यो राम्रो चालक मानिन्छ । जसलाई एउटा माइक्रो सर्किटमा फिट गरेर तयार पार्ने गरिन्छ । साधारण शब्दमा भन्दा सेमिकन्डक्टर बिना कुनै पनि विद्युतीय उपकरणको कल्पना गर्न सकिँदैन ।
सेमिकन्डक्टरको प्रयोग आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्वान्टम कम्प्युटिङ, वायरलेस नेटवर्किङ, फाइभजी, ड्रोन, रोबोटिक्स, गेमिङ आदि उद्योगमा धेरै मात्रामा प्रयोग हुने गर्छ ।