काठमाडौं । अचेलका बालबालिका स्मार्टफोनका लागि आफ्ना अभिभावकसँग साह्रै जिद्दी गरिरहेका हुन्छन् । विस्तारै उनीहरूलाई स्मार्टफोनमा टाँसिएर बस्ने बानी पर्दै जान्छ ।
अन्ततः बालबालिकाको स्मार्टफोन चलाउने बानी अभिभावकका लागि टाउको दुखाईको कारण बन्न थाल्छ । फोन पाउने बित्तिकै उनीहरू युट्युब, टिकटक, पब्जी वा अन्य यस्तै एपमा गइरहेका हुन्छन् ।
बालबालिका आफ्नै अघि छन् भने त ठीकै छ । तर सधैँ उनीहरूले मोबाइल चलाउँदा त्यसमा गरिने गतिविधि र हेर्ने सामग्री माथि तपाईँले प्रत्यक्ष रुपमा निगरानी गर्न सम्भव पनि छैन ।
यस्तोमा उनीहरू कतै अनावश्यक र फोहोरी सामग्री त हेरिरहेका छैनन्, तपाईँलाई थाहै हुन्न । अहिलेका बालबालिका यति धेरै स्मार्ट भइसकेका छन् कि उनीहरूले आफ्नो सर्च हिस्ट्री समेत डिलिट गरिदिन्छन् ।
त्यसपछि उनीहरूले मोबाइलमा के हेरे वा प्रयोग गरे भन्ने कुरा बुबाआमालाई थाहै हुन्न । यस्तोमा तपाईँलाई एउटा एपले सहयोग गर्न सक्छ ।
जसको सहयोगमा तपाईँ आफ्ना बालबालिकाले स्मार्टफोनमा के गरिरहेका छन् भन्ने कुरा सजिलै थाहा पाउन सक्नुहुन्छ । आज हामी तपाईँलाई यही एपको बारेमा बताउँदै छौँ ।
कुन हो त्यस्तो एप ?
गुगलले बालबालिकाले इन्टरनेट सही रुपमा सदुपयोग गरुन् भन्ने उद्देश्यका साथ गुगल फेमिली एप विकास गरेको छ । यदि तपाईँको बच्चा सानो छ वा किशोर अवस्थामा छ भने गुगलको फेमिली लिङ्क एपको सहयोगमा तपाईँले उनीहरूको गतिविधि निगरानी गर्न मात्र होइन, नियन्त्रण समेत गर्न सक्नुहुन्छ ।
यो एप तपाईँले आफ्नो र आफ्नो बच्चाको स्मार्टफोनमा इन्स्टल गरेर त्यसको एक्सेस आफ्नो मोबाइलमा राख्नुपर्ने हुन्छ । यो एपले तपाईँको बालकले स्मार्टफोनमा कति समय व्यतीत गरिरहेको छ भन्ने कुराको समेत जानकारी दिनेछ ।
यति मात्र होइन, बच्चाले कुन एप कति समय प्रयोग गर्यो भन्ने विषय समेत थाहा पाउन सकिन्छ । यदि बच्चाले कुनै एप इन्स्टल गरेर डिलिट गर्यो भने पनि त्यसको भेउ तपाईँलाई हुन्छ ।
साथै यदि बालबालिकाको स्मार्टफोनमा कुनै एप अनावश्यक छ भन्ने लाग्यो भने तपाईँ आफ्नो फोनबाटै त्यसलाई ब्लक गर्न सक्नुहुन्छ । मानौँ यदि तपाईँको बच्चाले प्ले स्टोरबाट कुनै एप इन्स्टल गरेको छ भने तपाईँले आफ्नै फोनबाट त्यसलाई बन्द गर्न सक्नुहुन्छ ।
यस बाहेक यदि तपाईँको बच्चा स्मार्टफोनमा धेरै समय बिताउन थालेको छ भने तपाईँले मोबाइल चलाउने समय निश्चित गर्न पनि सक्नुहुन्छ । यसका लागि एपमा टाइम लिमिट सेट गर्ने अप्सन दिइएको हुन्छ ।
यसरी निर्धारित समय समाप्त भएपश्चात स्मार्टफोन आफैँ लक हुन्छ । यति मात्र होइन, अबेर रातिसम्म छुट्टै कोठामा बसेर तपाईँको बच्चाले स्मार्टफोन प्रयोग गरिरहेको छ भने त्यसको जानकारी राख्न र तत्काल आफ्नै स्मार्टफोनबाट त्यसलाई लक गर्न सक्नुहुनेछ ।
यसो गर्दा बच्चाले स्मार्टफोन प्रयोग गर्न पाउँदैन । अर्को महत्त्वपूर्ण कुरा भनेको तपाईँको बच्चा कहाँ गइरहेको छ भन्ने कुरा तपाईँले यो एपको सहायताले ट्र्याक गर्न पनि सक्नुहुन्छ ।
यसमा हुने जीपीएसको सहयोगमा तपाईँले आफ्नो बच्चा कुन समयमा कहाँ छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । यसका लागि तपाईँले मोबाइलमा लोकेसन भने खुल्ला राख्नुपर्ने हुन्छ ।
एन्ड्रोइड स्मार्टफोनका लागि गुगल फेमिली लिङ्क एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।