close

साइबर आक्रमणबाट जापानमा टोयोटाको कार उत्पादन ठप्प

टेकपाना टेकपाना

फागुन १७, २०७८ १४:३९

साइबर आक्रमणबाट जापानमा टोयोटाको कार उत्पादन ठप्प

काठमाडौं । कम्पनीको मुख्य आपूर्तिकर्ता निक्कीमाथि साइबर आक्रमण भएपछि जापानमा टोयटाको कार उत्पादन गर्ने प्लान्ट बन्द भएको छ । ‘घरेलु आपूर्तिकर्ता (कोजिमा इन्डस्ट्रिज कर्पोरेसन) को सिस्टम फेल भएपछि मङ्गलबार जापान स्थित १४ प्लान्टका २८ लाइनको सञ्चालन निलम्बन गर्ने निर्णय लिएका छौँ,’ टोयोटाले आफ्नो वेबसाइटमा लेखेको छ ।

कोजिमाले एयर कन्डिसनिङ सिस्टम र स्टेरिङ ह्विलमा प्रयोग हुने पाटपुर्जा सहित इन्टेरियर र एक्स्टेरियर दुवै प्रकारका पार्ट्स आपूर्ति गर्दै आएको छ । पार्ट्समा असर नपरेपनि कोजिमाले टोयोटासँग सञ्चार गर्न तथा उत्पादनको अनुगमन गर्न सकिरहेको छैन ।

यो समस्याले गर्दा टोयोटाको ‘जस्ट इन टाइम’ नामक म्यानुफ्याक्चरिङ सिस्टम प्रभावित भएको छ । जसमा स्टक रहन नदिन जडान गर्नुभन्दा ठीक अघि मात्र पाटपुर्जाहरू डेलिभरी गर्नुपर्ने हुन्छ । टोयोटाले आफ्नो वेबसाइटमा साइबर आक्रमणको विषयलाई भने उल्लेख गरेको छैन ।

तर कोजिमाले भने यो विषयलाई स्वीकार गरेको छ । ‘हामीमाथि केही प्रकारको साइबर आक्रमण भएको विषय सही हो । हामी अझै पनि त्यसबाट हुन पुगेको क्षतिको विषयमा जाँचबुझ गर्दैछौँ र प्रतिक्रिया दिन हतार छौँ,’ कोजिमाका अधिकारीले निक्कीसँग भनेका छन्, ‘जसमा सकेसम्म छिटो टोयोटाको उत्पादन पुनः सञ्चालन गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।’

यस बाहेक टोयोटाका अन्य दुई साझेदार समेत साइबर आक्रमणमा परेको बताइएको छ । जसमा ट्रक उत्पादक हिनो मोटर्स र डाइहात्सु मोटर रहेका छन् । माल्वेरमार्फत साइबर आक्रमण सुरु भएको  बताइए पनि अन्य विवरण बाहिर ल्याइएको छैन ।

टोयोटाले म्यानुफ्याक्चरिङ लाइन कहिलेबाट पुनः सञ्चालनमा आउँछन् भन्ने विषयमा केही बताएको छैन । तर जापान सरकार भने लगातार रुपमा यसको अनुसन्धानमा जुटेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३