काठमाडौं । कार्ड भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डले रुसलाई आफ्नो नेटवर्कबाट हटाएका छन् । चीन बाहेक विश्वको ९० प्रतिशत डेबिट तथा क्रेडिट कार्डमा यिनै दुई नेटवर्क प्रयोग हुँदै आएका छन् । रुसमा समेत ७० प्रतिशत बजार भिसा र मास्टर कार्डकै रहेको छ ।
यस्तोमा रुस र युक्रेनबीचको पछिल्लो अवस्थालाई लिएर यी दुवै कम्पनीले त्यहाँका विभिन्न वित्तीय संस्थालाई आफ्नो नेटवर्कबाट हटाउने निर्णय लिएका हुन् । रुसलाई आफ्नो नेटवर्कबाट निकालिएको विषयमा दुवै कम्पनीले आधिकारिक रुपमै जानकारी दिइसकेका छन्
विशेषगरि अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्ध पश्चात यी दुई कम्पनीले यस किसिमको निर्णय लिएका हुन् । अमेरिकाले रुसको केन्द्रिय बैंक लगायतका विभिन्न निकायलाई समेत प्रतिबन्ध लगाएको छ ।
यस्तोमा अमेरिकी कम्पनी भिसा र मास्टर कार्डले पनि उनीहरूलाई आफ्नो नेटवर्कबाट निकाल्नुपर्ने अवस्था आएको हो । त्यसो त सन् १०१५ देखि रुसले मास्टर कार्ड र भिसाको विकल्पको रुपमा आफ्नो छुट्टै नेटवर्क तयार गरिरहेको छ ।
तर, हालसम्म उक्त नेटवर्कले ३० प्रतिशत बजारमात्रै लिन सफल भएको छ । यस्तोमा ७० प्रतिशत बजार हिस्सा रहेका मास्टर कार्ड र भिसा बाहिरिँदा रुसको अर्थतन्त्रमा नराम्रो असर पर्ने देखिएको छ ।