काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा भ्रामक क्याप्सन तथा तस्वीर अपलोड गर्नेहरूमाथि साइबर अपराधको मुद्दा चलाउने भएको छ । गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट सामाजिक सञ्जालको दुरुपयोग भएको उल्लेख गर्दै ब्यूरोले सचेत गराएको हो ।
‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवम् झुटा क्याप्सन राखेर भिडिओ तथा तस्वीर अपलोड गर्ने गरेको पाइएको छ ।’
ब्यूरोले भनेको छ, ‘यसबाट समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भाव खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन गर्दै निजको सामाजिक एवं सद्भाव खलल पुर्याउने, गोपनीयताको हक हनन गर्दै निजको समाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने प्रवृत्ति देखिएको छ ।’
यस्ता क्रियाकलापहरूमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै ब्यूरोले सचेत गराएको हो । ‘यस्ता प्रकारका गतिविधि नगर्नु नगराउनु हुन सम्पूर्णमा साइबर ब्यूरो अनुरोध गर्दछ,’ सूचनामा अगाडि भनिएको छ ।