काठमाडौं । रुस-युक्रेन युद्धले सूचना प्रविधिको बजारमा पनि तरङ्ग आइरहेको छ । हालसम्मको अवस्थालाई हेर्ने हो भने नाम चलेका सामाजिक सञ्जाल र प्रविधि कम्पनीहरु रुसविरुद्ध उभिएका छन् ।
हालै भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले रुसमा आफ्नो सेवा सीमित गरेको छ । कम्पनीले रुसमा आफ्नो लाइभ स्ट्रिमिङ सेवा बन्द गरेको छ भने नयाँ भिडिओ कन्टेट पनि बनाउन प्रतिबन्ध लगाएको छ ।
रुसी सेनाको विषयमा टिकटकमार्फत भ्रामक सूचना फैलन थालेपछि कम्पनीले यस्तो निर्णय लिएको हाे । रुसमा करिब तीन करोड ६० लाख टिकटक प्रयोगकर्ता छन् ।
रुसमा केही यस्ता टिकटक प्रयोगकर्ता पनि छन्, जसले आफ्नो जीविकोपार्जन टिकटकबाट नै गर्ने गरेका छन् ।
यसैबीच नेटफ्लिक्सले भने आफ्नो प्रसारणमा नै रोक लगाएको छ । सन् २०१६ देखि सेवा दिन सुरु गरेको नेटफ्लिक्सको हाल रुसमा मात्र १० लाख सब्सक्राइबर छन् ।
रूसको नेसनल मिडिया ग्रुपसँगको सहकार्यमा नेटफ्लिक्सले रुसमा चारवटा मौलिक (ओरिजिनल) परियोजनामा पनि काम गरिरहेको छ ।
बीबीसी लगायतका केही अन्तर्राष्ट्रिय मिडियाले रुसमा रिपोर्टिङ गर्न पनि रोक लगाएका छन् । योभन्दा अगाडि भिसा, मास्टर कार्ड र पीडब्लूसीले आफ्नो सेवा रुसमा बन्द गरिसकेका छन् ।
साथै एप्पल, सामसङ, ल्यान्ड रोभर, एच एण्ड एम, बर्बेरी लगायतका कम्पनीले पनि आफ्नो सेवा रुसमा सीमित पारेका छन् ।