काठमाडौं । डकुमेन्ट एआई स्टार्टअप कम्पनी डकसुमोले सीड फण्ड (बीउ पूँजी) को रुपमा ३५ लाख डलर (करिब ४३ करोड १९ लाख लाख रुपैयाँ) जुटाएको छ ।
वित्तीय सेवा प्रदान गर्ने कम्पनीहरुको काममा अटोमेसनको सेवा प्रदान गर्दै आइरहेको डकसुमोले विभिन्न भेन्चर क्यापिटल कम्पनीबाट याे फण्ड जुटाएकाे हाे ।
फिप्थ वाल, अर्बर रियल्टी ट्रष्ट र हालको लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा डकसुमोका लागि कमन ओसियनले इन्भेस्टमेन्ट राउन्डको नेतृत्व गरेको थियो ।
प्राप्त गरेको सीड फण्डबाट नेपाल र भारतमा सयौंलाई रोजगारी दिने र उत्तर अमेरिकी बजारमा आफ्नो क्लाइन्ट संख्या बढाउने योजना कम्पनीले ल्याएको छ ।
कम्पनीले डकुमेन्ट डेटा क्याप्चर, एनालिटिक्स, फ्रड डिटेक्सन जस्ता कार्यबाट वित्तीय कम्पनीहरुको कार्यालय सञ्चालन तर्फको ७० प्रतिशतसम्मको खर्च कटौती गर्न सघाउँदै आएको छ ।
हाल यसले अमेरिका, युराेपेनी युनियन, एसियाका वित्तीय संस्थाका लागि काम गरिरहेकाे छ ।
डकसुमोको प्राविधिक प्लेटफर्मले बैंक स्टेटमेन्ट, चेक भुक्तानी, ट्याक्स डेटा र व्यवसायसँग सम्बन्धित वित्तीय कागजात जस्ता तथ्याङ्कलाई अटोमेसन तथा विश्लेषण गर्न सहयोग गर्छ, जसले कम्पनी तथा फर्महरुलाई अव्यवस्थित कागजातलाई व्यवस्थित डेटाको रुपमा रुपान्तरण गर्न सघाउ पुर्याउने गर्दछ ।
डेटा साइन्टिस्टबाट उद्यमी बनेका विक्रम दाहालले भारतीय नागरिक रुशभ सेठसँग मिलेर तीन वर्षअघि यो कम्पनी स्थापना गरेका हुन् ।
‘हामीलाई सुरूदेखि नै नेपालबाट विश्वस्तरीय सास (SaaS) सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हाल काठमाडौंमा २५ डेटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन् र यो वर्षको अन्त्यसम्ममा टिम संख्या १०० पुग्ने छ । हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो,’ कम्पनीका सह-संस्थापक विक्रमले भने ।
नयाँ लगानीसँगै कम्पनीले कस्टमर अनबोर्डिङ, इनकम भेरिफिकेसन, फाइनान्सियल फ्रड डिटेक्सन, अन्डरराइटिङका लागि डेटा लगायत अन्य महत्वपूर्ण दैनिक कार्यलाई सहज बनाउने गरी काम गर्ने जनाएको छ ।