close

अब सामसङका सस्ता फोनमा पनि चार्जर नआउने

टेकपाना टेकपाना

फागुन २४, २०७८ १३:१५

अब सामसङका सस्ता फोनमा पनि चार्जर नआउने

काठमाडौं । सामसङले अब आफ्ना सस्ता फोनमा पनि चार्जर नदिने भएको छ । केही समय अगाडि मात्र एप्पलले आईफोन १२ खरिद गर्दा चार्जर निःशुल्क नदिने निर्णय गर्दा सामसङले एप्पललाई व्यङ्ग्य गरेको थियो ।

तर त्यसको केहि समयपछि आफ्नो ग्यालेक्सी एस२१ सिरिजको स्मार्टफोन सार्वजनिक हुँदा सामसङले पनि चार्जर उपलब्ध गराएन । त्यसपछि सामसङले आफ्नो फ्ल्यागशिप फोन लगायत अन्य महँगा फोल्डेबल फोनमा चार्जर दिन छोड्यो ।

अब भने कम्पनीले आफ्ना सस्ता फोनमा पनि चार्जर नदिने तयारी गरेको छ । ‘ए’ र ‘एम’ सिरिजका फोनबाट यसको सुरुवात गरिन लागेको छ ।

युरोपेली मोबाइल बिक्रेताहरूले ग्यालेक्सी ‘ए१३’ र ग्यालेक्सी ‘ए२३’ सिरिजका फोनमा चार्जर उपलब्ध नहुने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

साथै ग्यालेक्सी ‘एम२३’ र ग्यालेक्सी ‘एम३३’ सिरिजका फोनमा पनि चार्जर उपलब्ध हुनेछैन । यो विषयमा कम्पनीले भने कुनै आधिकारिक धारणा दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२