काठमाडौं । केही वर्षयता नेपालमा पनि टिकटक प्रयोगकर्ता बढेका छन् । सामाजिक सञ्जालमा छोटो समयमै लोकप्रिय बनिरहेको टिकटकमा बच्चादेखि वृद्ध-वृद्धासम्म जोडिएका छन् ।
तर टिकटक राम्रोसँग प्रयोग गर्न जानिएन भने प्रयोगकर्तालाई नै घाटा हुन्छ । टिकटककाे कम्युनिटी गाइडलाइन बारम्बार उल्लंघन गरे अकाउन्ट नै प्रतिबन्ध (ब्यान) वा फ्रिज हुन्छ ।
टिकटकले तपाईंको अकाउन्ट प्रतिबन्धित गर्ने मुख्य कारण हो, अनुपयुक्त सामग्री शेयर गर्नु । टिकटकमा विशेषगरी बुलिङ (धम्की), लागूपदार्थ, रक्सी, नग्नता वा कुनै पनि प्रकारको यौन सामग्रीलाई बढावा दिने सामग्री पाेस्ट गर्न पाइँदैन ।
यदि यस्ता सामग्री शेयर गर्नु थाल्नुभयाे भने अकाउन्ट प्रतिबन्धमा पर्छ ।
अर्काेतर्फ टिकटकमा तपाईंले नक्कली सामग्री पोस्ट गर्नुहुन्छ भने पनि अकाउन्ट फ्रिज हुनसक्छ । यदि तपाईं टिकटकमा पहिले नै पोस्ट गरिएको भिडिओ आफ्नो अकाउन्टमा पोस्ट गर्दै हुनुहुन्छ भने यस्ताे अवस्थामा अकाउन्ट फ्रिज हुने सम्भावना बढी हुन्छ ।
त्यसैले लाइक र इंगेजमेन्टका लागि अरु मानिसहरुको भिडिओ पोस्ट नगर्नु नै उपयुक्त हुन्छ । सुरुमा, यसले तपाईंलाई टिकटकमा छवि जमाउन मद्धत त गर्न सक्छ, तर पछि तपाईंको अकाउन्ट नै गुम्न सक्छ ।
अर्कोतर्फ, यदि तपाईं टिकटक भिडिओ पोस्ट गर्नुअघि भिडिओको वाटरमार्क (जुन अन्य प्रयोगकर्ताको प्रोफाइलको रूपमा सेभ गरिएको छ) हटाउनुभयो भने पनि टिकटकले यसलाई परीक्षण गरेर तपाईंको अकाउन्ट फ्रिज गरिदिन सक्छ ।
टिकटक अकाउन्ट फ्रिज गर्नु भनेको इन्स्टाग्राममा ‘shadow banned’ गर्नुजस्तै हो ।
तपाईंको भिडिओमा खतरनाक व्यक्ति वा संस्थाहरूको प्रतिनिधित्व गर्ने वस्तुहरूको नाम, प्रतीक, लोगो, जेस्चर, युनिफर्म, अभिव्यक्ति लगायत फेला परेको छ भने पनि टिकटक अकाउन्ट फ्रिज हुन सक्छ ।
यदि तपाईंको भिडिओ गैरकानूनी गतिविधिहरु प्रवर्द्धनका लागि जिम्मेवार पाइयो भने, यो तपाईंको अकाउन्टबाट हट्नसक्छ, तपाईंको अकाउन्ट प्रतिबन्धित हुन सक्छ वा टिकटकले फ्रिज गर्न सक्छ ।
जनावरहरूको हत्याजस्ता हिंसात्मक ग्राफिक सामग्री देखाउने कुनै पनि भिजुअल पोस्ट गर्नबाट तपाईं जोगिनैपर्छ । यदि कसैले यो रिपोर्ट गर्याे र त्यो रिपोर्ट जायज पाइयो भने तपाईंको टिकटक अकाउन्ट फ्रिज वा बन्द हुनसक्छ ।
तसर्थ, टिकटकमा भिडिओहरू पोस्ट गर्दा सबै कम्युनिटी गाइडलाइन पालना गरेर सुरक्षित पक्षमा रहनु सधैं राम्रो हुन्छ । यदि तपाईं सधैं सुरक्षित पक्षमा हुनुहुन्छ भने त्यहाँ तपाईंको टिकटक अकाउन्ट फ्रिज वा बन्द हुने कुनै संभावना छैन ।
यसकारण आकर्षक र मौलिक भिडिओहरू पोस्ट गर्नुहोस् । टिकटकले यसलाई मन पराउँछ र दर्शकहरूले पनि यसको प्रशंसा गर्छन् ।
अकाउन्ट प्रतिबन्ध हुनबाट जोगिन सबै उमेर समूहका प्रयोगकर्ताका लागि उपयुक्त हुने कन्टेन्ट पोस्ट गर्नुहोस् । हिंसालाईं बढावा गर्ने, गैरकानूनी गतिविधिको प्रवर्द्धन गर्ने लगायतका काम नगर्नुहोस् । त्यस्तै अनुमति बिना कसैको व्यक्तिगत सूचना वा विवरण टिकटकमा शेयर नगर्नुहोस् ।