काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबारमा रौनकता छाएको छ । एकपछि अर्को गर्दै हरेक महिना निरन्तर डिजिटल कारोबार बढिरहेको छ । यद्यपि पछिल्लो एक महिनाको तथ्याङ्कले भने डिजिटल कारोबारमा फरक अवस्था सिर्जना गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांङ अनुसार मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङबाहेक अन्य माध्यमबाट हुने डिजिटल कारोबार घटेको छ ।
उक्त तथ्याङ्क अनुसार क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या तथा रकम दुवै घटेको हो ।
राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ माघ महिनामा इन्टरनेट बैंकिङतर्फ कूल दुई लाख ६७ हजार ३५८ पटक कारोबार भएको छ ।
यो संख्या अघिल्लो महिना अर्थात माघको तुलनामा झन्डै १० लाख बढी हो । माघ महिनामा इन्टरनेट बैंकिङमार्फत दुई लाख ५६ हजार २२८ वटा कारोबारमार्फत १३ अर्ब ४९ करोड ६० लाखभन्दा बढी कारोबार भएको थियो ।
माघमा कारोबार संख्या बढेपनि कारोबार रकम भने कम देखिएको छ । माघमा १३ अर्ब ८९ करोड ९० लाखमात्रै कारोबार भएको देखिन्छ । त्यस्तै अवस्था मोबाइल बैंकिङमा समेत देखिएको छ ।
मोबाइल बैंकिङमा पनि कारोबार संख्या बढेको भएपनि कारोबार रकम भने घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार माघ महिनामा एक करोड ३८ लाख ४४ हजार ७१० पटकको कारोबारमा ९२ अर्ब ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ ।
यसअघि पुस महिनामा कारोबार संख्यातर्फ एक करोड ३५ लाख १८ हजार ९३६ हुँदा कारोबार रकम ९४ अर्ब ४० करोड पुगेको थियो । यसरी मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङले कारोबार रकम गुमाए पनि कारोबार संख्यामा भने आफूलाई अघि राख्न सफल भएको देखिन्छ ।
तर, अन्य सर्भिसमा भने कारोबार रकम र कारोबार संख्या दुवै घटेको छ । तथ्याङ्क अनुसार पुस महिनामा कनेक्ट आईपीएसबाट ३१ लाख ४० हजार १८० पटक कारोबार भएको छ ।
जुन अघिल्लो महिनाको तुलनमा पाँच हजारभन्दा बढी हो । माघ महिनामा कनेक्ट आईपीएसमार्फत ३१ लाख ४५ हजार ९५९ पटक कारोबार भएको थियो । कारोबारतर्फ ११ अर्बले घटेको छ ।
पुस महिनामा कनेक्ट आईपीएसमार्फत दुई खर्ब ४७ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएकोमा माघमा आउँदा २ खर्ब ३६ अर्ब ४२ मा सीमित भएको छ ।
त्यस्तै मोबाइल वालेटमार्फत हुने कारोबारतर्फ पुस महिनामा एक करोड २९ लाख ५७ हजार ३५३ ओटा कारोबारमार्फत १४ अर्ब ५३ करोड ६० लाखभन्दा बढी कारोबार भएको देखिन्छ । जुन अघिल्लो महिनाको तुलनामा निकै कम हो ।
माघ महिनामा वालेटमार्फत एक करोड ३७ लाख १२ हजार २६ पटक कारोबारमा १६ अर्ब २७ करोड ६० लाखभन्दा बढीको कारोबार भएको थियो ।
त्यस्तै माघमा क्यूआरमार्फत हुने कारोबार संख्या घट्दा कारोबार रकम भने बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुसमा क्यूआरमार्फत ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो ।
उक्त कारोबार रकम झन्डै ३७ करोडले बढेर माघमा ६ अर्ब ८९ करोड नाघेको छ । तर, कारोबार संख्या भने घटेको छ । पुसमा कूल १९ लाख १८ हजार ५२६ पटक कारोबार भएकोमा माघमा दुई लाखको हाराहारीमा घटेर १७ लाख ८२ हजार ३६३ पटक कारोबार भएको छ ।
अनलाइन कारोबारको संख्या र कारोबार रकममा देखिएको उतारचढावको असर अनलाइन शपिङमा समेत देखिएको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ महिनामा ई–कर्मसमा ७२ हजार ५०३ पटकको कारोबारमा ३४ करोड ६० लाख बराबरको कारोबार भएको छ । यसअघि माघ महिनामा कारोबार संख्या ७१ हजार ६६६ पटक हुँदा ३४ करोड ९० लाख रकम भुक्तानी भएको थियो ।