close

फेसबुक ग्रुपमा अब गलत सूचना पोस्ट भए स्वतः हट्ने

टेकपाना टेकपाना

फागुन २८, २०७८ १५:५५

फेसबुक ग्रुपमा अब गलत सूचना पोस्ट भए स्वतः हट्ने

काठमाडौं । फेसबुक ग्रुपमा भ्रामक तथा गलत सूचनाको प्रवाहलाई रोक्न मेटाले नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचर विशेषगरी ग्रुप एडमिन (ग्रुप व्यवस्थापन गर्ने व्यक्ति) का लागि बनाइएको हो ।

यो फिचरको सहयोगमा ग्रुप एडमिनले ग्रुपका कुनै सदस्यले गलत सूचना भएको अथवा भ्रामक सामग्री पोस्ट गर्न खोजेमा सो पोस्ट अटोमेटिक (स्वतः) ग्रुपमा पोस्ट नहुने बनाउन मिल्छ ।

थर्ड पार्टी फ्याक्ट चेकरको सहकार्यमा त्यस्ता पोस्ट ग्रुपमा देखिनुभन्दा अगाडि नै डिक्लाइन हुनेछन् । साथै कम्पनीले म्युट फिचरमा ‘सस्पेन्ड’ भन्ने नयाँ फिचर पनि ल्याएको छ । यो फिचरमा एडमिनले ग्रुपमा गलत समाचार पोस्ट गर्ने व्यक्तिलाई केही समयका लागि सस्पेन्ड गर्न मिल्छ ।

सस्पेन्ड भएको सदस्यले ग्रुपको कुनै पनि पोस्टमा लाइक तथा कमेन्ट गर्न मिल्दैन भने आफैंले पनि नयाँ पोस्ट राख्न मिल्दैन । त्यस्तै एड्मिनले ग्रुपका लागि विशेष क्राइटेरियाहरू सेटअप गर्न मिल्नेछ ।

उक्त क्राइटेरियाको आधारमा नयाँ सदस्यहरूले ग्रुपमा जोइन हुन खोज्दा क्राइटेरिया नपुग्दा स्वतः उनीहरुको रिक्वेस्ट खारेज हुन्छ र त्यस्ता व्यक्तिहरूले ग्रुप जोइन गर्न पाउँदैनन् ।

यो सबै फिचरहरू ग्रुपमा भएको ‘एडमिन एसिस्ट’ सेक्सनमा पाउन सकिन्छ । फेसबुकले एडिमन होम सेक्सनलाई अपडेट गरेर नयाँ फिचर थप गरेको हो ।

यसका साथै आफ्नो ग्रुपमा सदस्य बढाउन फेसबुकले ग्रुपको पनि क्यूआर कोड बनाउन मिल्ने फिचर ल्याएको छ । सो क्यूआर स्क्यान गरेर प्रयोगकर्ताहरूले ग्रुपमा जोइन हुन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२