close

क्यामेरामा हुने ओआईएसले कसरी गर्छ काम ?

हरिजङ्ग थापा हरिजङ्ग थापा

फागुन ३०, २०७८ ११:४०

क्यामेरामा हुने ओआईएसले कसरी गर्छ काम ?

काठमाडौं । स्मार्टफोनको सबैभन्दा बढी उपयोग हुने फङ्सनमध्येमा पर्छ, क्यामेरा । त्यसैले क्यामेरा राम्रो भएको फोन मानिसहरुको रोजाइमा पर्छ । तर मेगापिक्सेल धेरै हुँदैमा मोबाइलले राम्रो फोटो र स्तरीय भिडिओ खिच्न सक्छ भन्ने छैन ।

त्यसका लागि मोबाइलको लेन्स र सेन्सर स्टेबल हुनुपर्छ । हो यही कुरालाई ध्यानमा राख्दै ओआईएस (OIS) र ईआईएस (EIS) सहितको मोबाइल आउन थालेको हो ।

जब हामी फोटो खिच्नका लागि मोबाइलको क्यामेरा खोल्छौं, लगत्तै लाइट क्याप्चर गर्न लेन्स खुल्छ । क्यामेराको भित्री भागमा हुने यो काम हामीले पत्तै पाएका हुँदैनौं । पर्याप्त लाइट छ भने लेन्स एकदमै छोटो समयका लागि खुल्छ ।

अँध्यारो वा कम लाइट छ भने अलि धेरै बेरसम्म लेन्स खुला रहन्छ । फोटो कैद गर्न क्यामेराले जति धेरै समय लगाउँछ, फोन हल्लिने सम्भावना पनि उत्तिकै बढी हुन्छ ।

त्यसैले हात अथवा मोबाइल हल्लिए पनि क्यामेराको लेन्स र सेन्सरलाई स्टेबल राख्ने प्रविधिलाई ओआईएस अर्थात अप्टिकल इमेज स्टेबलाइजेसन भनिन्छ ।

क्यामेराको लेन्स र सेन्सरलाई सन्तुलनमा राख्न यसमा Springs र Electromagnets अर्थात विद्युतीय चुम्बकको प्रयोग गरिएको हुन्छ । ओआईएसले फोनमा भएको Gyroscope sensor को उपयोग गर्छ ।

त्यसका आधारमा फोनको हलचल पत्ता लगाउँछ र क्यामेराको लेन्स र सेन्सरको काममा अवरोध हुन दिँदैन ।

फलस्वरुप मोबाइल हलचल हुँदा होस् वा मोसनमा रहेको अब्जेक्ट खिच्दा नै किन नहोस्, अथवा लो लाइटमा नै क्यामेरा प्रयोग गर्दा पनि फोटो सफा र स्पष्ट आउँछ ।

त्यस्तै यसले भिडिओलाई स्टेबल बनाउन पनि एकदमै सघाउँछ । भिडिओको लागि OIS सँगै EIS अर्थात Electronic Image Stabilization पनि हुनु राम्रो हो । OIS हार्डवयर सिस्टम हो भने EIS चाहिँ सफ्टवयर प्रणाली हो ।

यी दुवैले फोन हल्लिए पनि क्यामेराको लेन्स र सेन्सरबीचको सन्तुलन कायम राख्न मद्धत गर्छन् ।

मोबाइलबाट फोटो र भिडिओ धेरै खिच्नुहुन्छ भने सकेसम्म यी दुवै सिस्टम भएको फोन किन्दा उचित हुन्छ । OIS भएका अधिकांश फोनमा EIS सिस्टम हुन्छ नै । त्यसैले यस्ता फोन अलि महंगो पर्न सक्छ ।

सामसङका अधिकांश ग्यालेक्सी फाेनहरूमा Image Stabilization System का लागि हार्डवेयर र सफ्टवेयर दुवैको संयाेजन गरिएको हुन्छ ।

त्यसैले OIS र EIS दुवै भएको फोनबाट फोटो र भिडिओ स्तरीय आउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२