close

वाई-फाईको विकल्प अब लाई-फाई प्रविधि

टेकपाना टेकपाना

बैशाख १४, २०८० १०:१२

काठमाडौं । मान्नुस् तपाईँको कोठामा लाइट बलेको छ । उक्त लाइटको किरण जहाँजहाँ पर्छ, त्यही ठाउँमा मात्र इन्टरनेट चल्ने भयो भने कस्तो होला ? हो यही हो, लाई-फाई प्रविधि ।

प्रकाशको किरणबाट डेटा ट्रान्सफर हुने प्रविधिलाई लाई-फाई अर्थात् लाइट फेडेलिटी (Light Fidelity) प्रविधि भनिन्छ । यो एउटा यस्तो वायरलेस इन्टरनेट प्रविधि हो, जो प्रकाशको किरणबाट प्रसारण हुन्छ ।

आज हामी लाई-फाई प्रविधि के हो, वाई-फाई प्रविधिभन्दा लाई-फाई प्रविधि किन र कुन कुरामा भिन्न छ, यसको आवश्यकता किन छ, यसलाई कसरी प्रयोग गर्न सकिन्छ जस्ता विषयमा जानकारी दिँदै छौँ ।

सामान्य अर्थमा भन्नुपर्दा प्रकाश (लाइट) को प्रयोग गरी डेटा प्रसारण गर्ने वायरलेस सञ्चार प्रविधि नै लाई-फाई हो । इन्टरनेट पनि एक डेटा ट्रान्सफरको माध्यम हो । हामीले प्रयोग गरिरहने वाई-फाई रेडियो वेभमा आधारित हुन्छ । अर्थात् वाई-फाईमा हुने रेडियो वेभले गर्दा डेटा प्रसारण सम्भव हुन्छ ।

तर, रेडियो वेभका केही सीमितता छन् । एउटा विन्दुमा गइसकेपछि रेडियो वेभको स्पिडमा रोक लाग्छ । परिवर्तनशील समयमा हाम्रो आवश्यकता बढेसँगै तीव्र गतिको इन्टरनेट स्पिड आवश्यक पर्छ । यसलाई लाई-फाई प्रविधिले परिपूर्ति गर्ने विद्धानहरूको तर्क छ ।

लाई-फाई प्रविधिको इतिहास

लाई-फाई प्रविधिलाई पहिलो पटक सन् २०११ मा प्रोफेसर हेराल्ड हासले प्रस्ताव गरेको विषय थियो । त्यसपछि वाई-फाईको सम्भावित विकल्पका रुपमा धेरैको ध्यान लाई-फाई प्रविधितर्फ केन्द्रित भएको छ ।

लाई-फाई प्रविधिले कसरी काम गर्छ ?

जसरी वाई-फाई प्रविधिबाट इन्टरनेट प्रयोग गर्न राउटर, फाइबर केबल वा अन्य डिभाइस आवश्यक पर्छन्, त्यस्तै लाई-फाई प्रविधिमा पनि विभिन्न उपकरण आवश्यक पर्छन् ।

 १. प्रकाशको स्रोत

कोठा वा इन्टरनेट उपलब्ध गराउने ठाउँमा प्रकाशको स्रोत हुनुपर्छ । प्रकाशको स्रोतका रुपमा विशेषगरी एलईडी लाइट प्रयोग हुन्छ । यो लाइट उच्च फ्रिक्वेन्सीमा परिमार्जन गरिएको हुन्छ, जसले डेटा ट्रान्सफर गर्ने अनुमति दिन्छ ।

डेटा इन्कोडिङ

ट्रान्सफर गर्नुपर्ने डेटालाई परिमार्जित लाइट सिग्नलमा इनकोड गरिएको हुन्छ । डेटा इन्कोड गर्नका लागि अन-अफ किइङ (OOK), फ्रिक्वेन्सी सिफ्ट किइङ (FSK) वा फेज शिफ्ट किइङ (PSK) जस्ता तरिका अपनाइन्छ ।

ट्रान्समिसन

डेटालाई परिमार्जित लाइट सिग्नलका रुपमा इन्कोड गरिसकेपछि यसलाई एलईडी लाइट स्रोतबाट प्रसारण गरिन्छ । त्यसपछि उक्त सिग्नललाई फोटोडिटेक्टरले रिसिभ गर्छ ।

फोटोडिटेक्टर त्यस्तो उपकरण हो, जसमा डेटासहितको प्रकाशको किरणलाई पहिचान (Detect) गर्ने क्षमता हुन्छ ।

डिकोडिङ

प्राप्त गरेको परिमार्जित लाइट सिग्नललाई फोटोडिटेक्टरले ओरिजिनल डेटामा परिणत गर्छ । यस डिकोडिङ प्रक्रियामा विभिन्न सिग्नल प्रशोधनका प्रक्रिया हुने गर्छन् । जसले गर्दा प्राप्त सिग्नललाई ओरिजिनल डेटामा परिणत गर्न सक्छ ।

डेटा प्रशोधन

डेटालाई डिकोड गरिसकेपछि, प्रशोधित डेटालाई सम्बन्धित डिभाइससम्म पुर्‍याइन्छ । डेटा प्रशाेधनका समयमा डेटामा भएका कमजोरी सुधार्ने, डिक्रिप्सन वा अन्य किसिमका डेटा म्यानुपुलेसनलाई सुधार गर्ने काम हुन्छ ।

रिसिभ

माथिका सबै प्रक्रिया सम्पन्न भएको खण्डमा मात्र सम्बन्धित डिभाइसमा इन्टरनेटमा जोडिन्छ । त्यसपछि सामान्य तरिकाले वाई-फाई जोड्दा जस्तो इन्टरनेटको अनुभव पाइन्छ त्यस्तै अनुभव यसमा पाउन सकिन्छ ।

अनि एलईडी लाइटबाट आएको प्रकाशको किरण प्रयोग गरेर उच्च गतिमा डेटा प्रसारण हुन्छ ।

लाई-फाई प्रविधि किन महत्त्वपूर्ण छ ?

माथि उल्लेख गरेजस्तै लाई-फाईमा प्रयोग भएको एलईडीबाट आउने प्रकाश जहाँजहाँ पर्छ, त्यही इन्टरनेट कनेक्सन सम्भव हुन्छ । भन्नुको अर्थ एलईडी लाइटबाट आउने प्रकाशको किरण कोठाभन्दा बाहिर जान दिनुभएको छैन भने बाहिर इन्टरनेट चल्दैन ।

सीमित क्षेत्रभित्र मात्र इन्टरनेट चल्ने भएकाले पनि लाई-फाई प्रविधिको इन्टरनेट स्पिड वाई-फाईको तुलनामा बढी हुन्छ ।

लाई-फाई प्रविधिका फाइदा

वाई-फाई प्रविधि धेरैले प्रयोग गरिरहे पनि यसका केही सीमितता र कमजोरी छन् । जसले गर्दा वाई-फाईको विकल्प खोजिएको हो । लाई-फाईको सबैभन्दा प्रमुख विशेषता भनेकै स्पिड हो ।

वाई-फाईको औसत स्पिडभन्दा लाई-फाईको औसत इन्टरनेट स्पिड सय गुणा बढी हुने परीक्षणले देखाएको छ । लाई-फाई प्रविधिबाट निम्नानुसारका फाइदा पाउन सकिन्छ:

सुरक्षा

वाई-फाईको तुलनामा लाई-फाई प्रविधि निकै सुरक्षित र भरपर्दो मानिन्छ । एलईडी लाइटबाट आउने प्रकाशको किरण भित्ताभन्दा बाहिर नजाने भएकाले नेटवर्कमा अनधिकृत पहुँच हुनबाट रोक्छ ।

विकिरण

हुन त वाई-फाईबाट आउने विकिरणले मानिसको स्वास्थ्यलाई त्यति असर गर्दैन भनिएको छ । तर, थोरै मात्रामा भए पनि त्यसबाट आउने विकिरणका नकारात्मक असरहरू थुप्रै हुन्छन् ।

लाई-फाई प्रविधिले हानिकारक इलेक्ट्रोमेग्नेटिक रेडियसन नफाल्ने भएकाले स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।

रेन्ज

लाई-फाई प्रविधिले सीमित परिधिभित्र मात्र काम गर्छ । भन्नुको अर्थ एलईडी लाइटबाट आउने प्रकाशको किरण जहाँ जहाँसम्म पुग्छ, त्यहाँ मात्र इन्टरनेट चल्छ । त्यसैले घर वा अफिसजस्ता स-साना ठाउँमा लाई-फाई प्रविधि उपयुक्त हुन्छ ।

भरपर्दो

लाई-फाई प्रविधिले वाई-फाईभन्दा फरक फ्रिक्वेन्सी ब्यान्डद्वारा सञ्चालन हुने भएकाले सम्भावना कम हुन्छ । जसले गर्दा वाई-फाई जस्तो लाई-फाईमा अवरोधहरू कम हुन्छन् ।

जैविक असर

वाई-फाईको तुलनामा लाई-फाई प्रविधिले वातावरणमा पार्ने असर कम हुन्छ । विशेषगरी यसमा रेडियो वेभ समावेश नहुने भएकाले वन्यजन्तु वा पारिस्थितिक प्रणालीमा कम बाधा पुर्‍याउँछ ।

तीव्र गतिमा डेटा ट्रान्सफर दर

वाई-फाईको तुलनामा लाई-फाईमा डेटा ट्रान्सफरको दर तीव्र हुन्छ ।

बढी ब्यान्डविथ

वाई-फाईको तुलनामा लाई-फाईको ब्यान्डविथ धेरै हुन्छ । किनभने जति ब्यन्डविथ रेडियो वेभको हुन्छ त्योभन्दा कैयौं गुणा बढी ब्यान्डविथ भिजिबल लाइटको हुन्छ ।

विभिन्न फाइदाका बाबजुद पनि लाई-फाई प्रविधिका केही बेफाइदाहरू छन् । विशेषगरी भिजिबल लाइटका माध्यमबाट डेटा प्रसारण हुने भएकाले हामी धेरै समय एलईडी लाइटको प्रकाशको किरणमा बस्नुपर्ने हुन्छ । त्यसबाहेक पनि लाई-फाई प्रविधिका विभिन्न बेफाइदा छन् ।

सीमित रेन्ज

लाई-फाई प्रविधि एउटा सीमित परिधिभित्र मात्र सञ्चालन आउन सक्छ । घरको एउटा कोठामा भएको लाई-फाई प्रविधि सोही घरको सोही तलाको अर्को कोठामा नचल्न सक्छ । किनभने अर्को कोठामा इन्टरनेट कनेक्सन हुन एलईडी लाइटको प्रकाश पुगेको हुनुपर्छ ।

लाइन-अफ-स्ट्रेट कनेक्सन

लाई-फाई प्रविधिलाई लाइन-अफ-स्ट्रेट कनेक्सन आवश्यक पर्छ । भन्नुको अर्थ ट्रान्समिटर र रिसिभर एउटै लाइनमा पर्नुपर्छ । जसले गर्दा घरको भित्ता वा अन्य फर्निचरले बाधा पुर्‍याउने सम्भावना धेरै हुन्छ ।

अन्य स्रोतका प्रकाशले प्रभाव पार्न सक्छ

यदि लाई-फाई प्रविधि भएको कोठामा अन्य स्रोतका प्रकाश विशेषगरी सूर्यको प्रकाश वा अन्य कुनै प्रकाशको बाधा पुर्‍याउँछ । जसले गर्दा डेटा प्रसारणमा अवरोध आउन सक्छ ।

त्यसैले अन्य स्रोतका प्रकाशमा लाई-फाई संवेदनशील हुन्छ । प्रकाशको मात्र नभइ कुइरो, धुवा वा धुलोले पनि लाई-फाईलाई प्रभाव पार्न सक्छ ।

महँगो

लाई-फाई नयाँ किसिमको प्रविधि हो । यो जडानका लागि वाई-फाईको तुलनामा महँगो पर्छ ।

लाई-फाईका उपयोगिता;

घर वा कार्यालयमा मात्र नभई लाई-फाई प्रविधि अन्य विभिन्न अन्वेषणका काममा प्रयोग गर्न सकिन्छ । विशेषगरी समुद्रभित्रका कुरहरू अन्वेषण गर्न पनि लाई-फाई प्रविधिको प्रयोग गर्न सकिन्छ । किनभने प्रकाश पानीका माध्यममा पनि यात्रा गर्न सक्छ ।

त्यस्तै विभिन्न शल्यक्रियाका काममा लाई-फाई प्रविधिको प्रयोग हुने गर्छ । साथै वायु सेवामा पनि लाई-फाई प्रविधि प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै नयाँ नयाँ कुरा अन्वेषण गर्न लाई-फाई प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १०:१२