काठमाडौं । विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले जारी युक्रेन-रुस युद्धका कारण गाडीको मूल्य बढ्नसक्ने चिन्ता गरेका छन् ।
युद्ध सुरु भएसँगै टेस्ला तथा स्पेसएक्सले कच्चा पदार्थमा मुद्रास्फीतिको दबाब झेलिरहेको बताउँदै मस्कले यसको असर उपभोक्ताले चुकाउनुपर्ने चिन्ता गरेका हुन् ।
आइतबार आफ्नो ट्वीटरमा मुद्रास्फीति दर सम्बन्धी एक समाचार रिट्वीट गर्दै उनले आफूहरू पनि यसको असरबाट अछुतो नरहेको बताएका छन् ।
युक्रेनमा रुसी आक्रमणका कारण गाडी बनाउने मेटल, अल्मुनियम, प्याडियम, विद्युतीय गाडीको ब्याट्री बनाउन आवश्यक कच्चा पदार्थ लगायत अन्य धेरै सामग्रीको मूल्य वृद्धि भएको छ ।
यसको प्रभाव स्वतः उपभोक्तामा पर्न जान्छ । योसँगै विद्युतीय गाडी निर्माताले खेपिरहेको चिप अभाव थप जटिल बन्दै गइरहेको छ । साथै टेस्लाको शेयर मूल्य पनि घट्दो छ ।
रोयटर्समा प्रकाशित एक समाचार अनुसार टेस्लाको गत एक वर्षको अवधिमा शेयर मूल्य करिब २५ प्रतिशतले घटेको छ ।