close

ट्वीटर ट्रेन्डिङमा किन आए प्रकाश सपुत ?

टेकपाना टेकपाना

फागुन ३०, २०७८ १५:५३

ट्वीटर ट्रेन्डिङमा किन आए प्रकाश सपुत ?

काठमाडौं । ट्वीटरमा नेपालको ट्रेन्डिङ सूचीमा अहिले गायक प्रकाश सपुतको नाम आएको छ । ट्वीटर मात्र होइन, पछिल्ला केही दिनमा गायक सपुत र उनको नयाँ गीत ‘पीर’ सामाजिक सञ्जालका सबैजसो प्लेटफर्ममा चर्चाको विषय बनेको छ ।

शुक्रबार सपुतले आफ्नो युट्युव च्यानलमा यो गीत अपलोड गरेका थिए । हालसम्म उनको गीतले ४३ लाखभन्दा बढी भ्युज पाइसकेको छ भने लगातार नेपालमा ट्रेन्डिङ नम्बर १ मा छ ।

सार्वजनिक भएलगत्तै विवादित बनेको यो गीतबारे सामाजिक सञ्जालमा प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया दिइरहेका छन् ।

गीतमा पूर्वलडाकुहरूले अहिले भोगिरहेकाे समस्यालाई दर्शाउन खाेजिएको छ । केही नेता उच्च तहमा पुगिरहँदा १० वर्षे जनयुद्धमा होमिएका लडाकुहरूले पाइरहेको दुःखलाई गीतमा चित्रण गरिएको छ ।

गीतमा एक जना पूर्वलडाकु महिला देह व्यापारमा संलग्न भएको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विवाद चलिरहेको छ ।

कसैले गीतले यथार्थलाई चित्रण गरेको भनेका छन् भने केहीले महिला छापामारको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्ने अभिव्यक्ति दिएका छन् ।

केहीले भने आउँदै गरेको चुनावलाई भड्काउन यो गीत निकालिएको अड्कल गरेका छन् ।

राजनीतिक दलका नेताले समेत सामाजिक सञ्जालमार्फत यस विषयमा आफ्नो धारणा राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२