काठमाडौं । टेस्लाले एक महिनाभित्रै आफ्ना विद्युतीय गाडीहरूको मूल्य दोस्रो पटक वृद्धि गरेको छ । गत हप्ता मात्रै टेस्लाले लङ-रेन्जको मोडेलको गाडीको मूल्य एक हजार अमेरिकी डलर अर्थात करिब एक लाख २२ हजार रुपैयाँभन्दा धेरैले बढाएको थियो ।
एक हप्ताको अन्तरालमा नै कम्पनीले पुनः टेस्लाका विभिन्न मोडेलका विद्युतीय गाडीको भाउ बढाएको हो । यससँगै मोडेल थ्रीको मूल्य दुई हजार अमेरिकी डलरले बढेर ४६ हजार ९९० अमेरिकी डलर पुगेको छ भने मोडेल थ्री डुअल मोटर अल ह्विल ड्राइभको मूल्य दुई हजार पाँच सय डलरले बढेर ५४ हजार ४९० अमेरिकी डलर पुगेको छ ।
त्यसैगरी पर्फर्मेन्स भर्सनको मूल्य तीन हजार अमेरिकी डलरले बढेर ६१ हजार ९९० डलर पुगेको छ । त्यसैगरी मोडेल वाईको मूल्य दुई हजार डलरले बढेर ६२ हजार ९९० अमेरिकी डलर पुगेको छ भने मोडेल वाईको पर्फर्मेन्स भर्सनको मूल्य तीन हजार डलरले बढेर ६७ हजार ९९० अमेरिकी डलर पुगेको छ ।
मोडेल एसको दुवै भर्सनको मूल्य भने पाँच हजार डलरले वृद्धि भएको छ । सबैभन्दा बढी मूल्य हुनेमा मोडल एक्स रहेको छ । जसको मूल्य १० हजार अमेरिकी डलरले वृद्धि भएर एक लाख १४ हजार ९९० अमेरिकी डलर पुगेको छ ।
कम्पनीले यो मूल्यवृद्धि अनौपचारिक रुपमा गरेको भए पनि केही दिन अगाडि मात्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नो ट्वीटर मार्फत टेस्लाको मूल्य वृद्धिको बारेमा उल्लेख गरेका थिए । त्यसक्रममा उनले विभिन्न कच्चा पदार्थको मूल्य बढेका कारण टेस्लाको मूल्य बढ्नसक्ने जनाउ दिएका थिए ।