काठमाडौं । रुसी अन्तरिक्ष एजेन्सी रोसकसमसका प्रमुखले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई एक्लै छोड्ने धम्की दिएका छन् । ट्वीटर र फेसबुकमा पोस्ट गरिएको भिडिओ तथा रुसको सरकारी सञ्चार माध्यम आरआईए नोवोस्टमा शेयर गरिएको भिडिओमा रोसकसमसका प्रमुख दिमित्री रोगोजिनले नासाका अन्तरिक्षयात्रीलाई अन्तरिक्षमै छोडेर फर्किने बताएका हुन् ।
अमेरिकाको टेक्सासका ५५ वर्षीय विवाहित मार्क भ्यान्डे हेई दुई छोराछोरीका बुबा समेत हुन् । उनी यही मार्च ३० मा दुई रुसी अन्तरिक्षयात्रीहरूसँगै अन्तरिक्षबाट काजकिस्तान फर्किने तयारीमा थिए । उनले अर्बिट परिक्रमा गर्ने अन्तरिक्ष प्रयोगशालामा लगभग एक वर्ष बिताइसकेका थिए । अब भने उनी रुसको सोयुज अन्तरिक्षयान मार्फत पृथ्वीमा फर्कने तयारीमा छन् ।
भिडिओमा, हेईसँग भएका अन्य दुई अन्तरिक्ष यात्रीहरूले स्पष्ट रूपमा उनलाई विदाई गरेर रुसी स्टेसनको खण्डलाई अलग गरेर फर्केको देख्न सकिन्छ। यसो गरिएमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले नियन्त्रण गुमाउन सक्छ । उक्त भिडिओ शेयर गर्दै आरआईए नोभोस्टिले यो भिडिओ ठट्टाको रुपमा राखिएको भए पनि रुसले आफू आईएसएसबाट छुट्टिन सक्ने सम्भावना दर्शाएको बताएको छ ।
रुस र युक्रेनबीचको जारी युद्ध सुरु भएदेखि नै दिमित्रीले आईएसएसलाई लिएर विभिन्न भनाइ राख्दै आएका छन् । गत महिना मात्रै उनले रुसमाथि लगाइएको अमेरिकी प्रतिबन्धले रुसको अन्तरिक्षको क्षेत्रलाई ठूलो धक्का पुगेको र यो कदमले आईएसएसलाई नै क्षति पुग्ने चेतावनी दिएका थिए । उनले बारम्बार आफ्नो ट्वीटर मार्फत आईएसएसमा रुसले आफ्नो सहकार्य तोड्ने पनि बताउदै आएका छन् ।