काठमाडाैं । नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको नयाँ ब्रान्ड मिकुले पहिलो पटक आफ्नो विद्युतीय बाइकको बिक्री सुरु गरेको छ ।
नेपालका लागि मिकुकाे आधिकारिक विक्रेता कालिबर अटो प्रालिले मिकुका दुई माेडलका इलेक्ट्रिक बाइक बिक्री सुरु गरेको हो ।
कम्पनीले नेपालमा ‘मिकु म्याक्स’ र ‘मिकु सुपर’ माेडलका वाटरप्रुफ विद्युतीय बाइक ल्याएकाे हाे । ‘फ्लोटिङ’ सी-आकारको बडी फ्रेमको साथ डिजाइन रहेको मिकु म्याक्समा १०० किलो अधिकतम क्षमता रहेको एक जना बस्न मिल्ने सिट रहेको छ ।
त्यस्तै, १८५ केजीको अधिकतम लोड क्षमता भएको ‘मिकु सुपर’ दुई सिटको बाइक हो । १.२ किलाे वाट आवर ब्याट्री क्षमताको म्याक्स बाइकले ८०० वाट पावर उत्पादन गर्दछ भने १.४ किलाे वाट आवरको ब्याट्री क्षमताको सुपर बाइकले ३००० वाट पावर उत्पादन गर्दछ ।
म्याक्स बाइकको ब्याट्री पूर्ण चार्ज हुन चार घण्टा लाग्छ र एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । यसमा ४५ किमी प्रति घण्टाको स्पिड रेन्ज रहेको छ ।
सुपर बाइकमा ८० किलोमिटर प्रतिघण्टाको स्पिड रेन्ज रहेको छ । यसलाई पूर्णरूपमा चार्ज हुन चार घण्टासम्म लाग्छ र एक पटक चार्ज गर्दा यसमा १३५ किलोमिटरको यात्रा गर्न सकिन्छ ।
आकर्षक र फरक तरिकाले डिजाइन भएका यी दुवै बाइकमा एलईडी हेडलाइट, इन्डिकेटर र एलईडी टेल लाइट जडान गरिएको छ ।
पावर, स्पिड, रेन्ज र ब्लुटुथ कनेक्सन आदिको डिस्प्ले हेर्न दुवै बाइकमा ४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको सुविधा छ ।
त्यस्तै, यो दुवै बाइकमा ५.७ एल फ्रन्ट स्टोरेज, थ्री-स्पीड मोड, क्रुज कन्ट्रोल, यूएसबी चार्जिङ पोर्ट, एलईडी बक्स ल्याम्प, हाइड्रोलिक सस्पेन्सन र कम्बाइन्ड ब्रेकिङ सिस्टम जस्ता फिचर पनि छन् ।
मिकुको इलेक्ट्रिक बाइक म्याक्स मोडलको मूल्य नेपाली बजारमा दुई लाख २५ हजार र सुपर मोडलको तीन लाख ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।