close

झन्डै आधाले घट्यो मोबाइल आयात, के होला कारण ?

टेकपाना टेकपाना

चैत ७, २०७८ १८:१७

झन्डै आधाले घट्यो मोबाइल आयात, के होला कारण ?

काठमाडौं । पछिल्लो केही वर्षयता नेपालमा मोबाइल आयात उल्लेख्यरूपमा वृद्धि हुँदै आएको छ । भन्सार विभागले तयार पार्ने प्रतिवेदनले हरेक महिना मोबाइल आयात र त्यसको मूल्य वृद्धि हुँदै आएको देखाउँछ ।

यद्यपि फागुन महिनामा भने मोबाइल आयात खस्किएको पाइएको छ । भन्सार विभागले हालै जारी गरेको फागुन महिनाको तथ्यांक अनुसार विदेशबाट एक महिनामा कूल दुई अर्ब ६० करोड ४३ लाख रुपैयाँ बराबरको दुई लाख ५४ हजार १८५ मोबाइल भित्रिएको छ । जुन अघिल्लो महिनाको तुलनामा मोबाइलको आयातको हिसाबले आधा नै कम हो ।

माघ महिनामात्रै चार लाख ४१ हजार ३७० वटा मोबाइल भित्रिएको थियो । तर, कारोबार रकमको हिसाबले भने त्यति फरक देखिँदैन ।

माघ महिनाको तथ्यांक अनुसार माघमा विदेशबाट कूल दुई अर्ब ७५ करोड ६३ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छ । जुन फागुनको तुलनामा १५ करोड २० लाखको मात्रै फरक रहेको छ । जबकि मोबाइल संख्यामा भने एक लाख ९६ हजारको फरक देखिएको छ ।

यसरी मोबाइल आयातको संख्यामा ठूलो अन्तर देखिँदा मोबाइल आयातको रकम समान हुनुले भने प्रश्न खडा गरेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो आठ (साउनदेखि फागुनसम्म) महिनामा ३० अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको ४२ लाख ५९ पाँच हजार ९८९ मोबाइल आयात भएको छ ।

एक महिनाको अवधिमा दुई लाख ५४ हजार १८५ वटा मोबाइल थप भित्रिएको छ । जसमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनबाट मोबाइल आयत भएको छ । चीनबाट मात्रै फागुन मसान्तसम्म कूल १८ अर्ब २३ करोड रुपैयाँ बराबरको ३२ लाख ६७ हजार ४५२ मोबाइल भित्रिएको छ ।

त्यस्तै दोस्रो धेरै मोबाइल आयात हुने देशमा भारत रहेको छ । भारतबाट फागुनसम्म कूल ११ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ बराबरको आठ लाख सात हजार ८८४ वटा मोबाइल भित्रिएको छ ।

तेस्रो नम्बरमा भियतनाम रहेको छ । भियतनामबाट फागुन मसान्तसम्म कूल एक अर्ब १५ लाख रुपैयाँ बराबरको एक लाख ६३ हजार ६५९ वटा मोबाइल सेट भित्रिएको छ ।

यसरी भित्रिएको मोबाइलबाट सरकारले फागुन मसान्तसम्म चार अर्ब ८९ करोड ९३ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३