close

फेसबुक प्रोटेक्ट एक्टिभ नगर्ने प्रयोगकर्ताको अकाउन्ट लक, जोगिने कसरी ? 

टेकपाना टेकपाना

चैत ७, २०७८ १९:५८

फेसबुक प्रोटेक्ट एक्टिभ नगर्ने प्रयोगकर्ताको अकाउन्ट लक, जोगिने कसरी ? 

काठमाडौं । मार्च महिनाको सुरुवाततिर थुप्रै फेसबुक प्रयोगकर्ताले एउटा स्पाम जस्तै लाग्ने रहस्यमयी ई-मेल पाए, जसमा लेखिएको थियो, ‘तपाईँको अकाउन्टमा फेसबुक प्रोटेक्टको आधुनिक सेक्युरिटी आवश्यक छ’ (योर अकाउन्ट रिक्वायर्स एड्भान्स्ड सेक्योरिटी फ्रम फेसबुक प्रोटेक्ट) ।

प्रयोगकर्ताले निर्धारित मितिमा ‘फेसबुक प्रोटेक्ट’ अन गर्न आवश्यक रहेको (त्यसका लागि ई-मेलमै समेत लिङ्क दिइएको थियो) अन्यथा उनीहरूको अकाउन्ट लक हुने उल्लेख थियो ।

फेसबुकका अनुसार यो कार्यक्रम दुराशययुक्त ह्याकरबाट निशानामा पर्न सक्ने जोखिम बढी रहेका प्रयोगकर्ताका लागि ल्याइएको सेक्युरिटी प्रोग्राम हो । जसमा मानव अधिकारवादी, पत्रकार, सरकारी कर्मचारी पर्दछन् ।

यसको अर्थ त्यस्ता अकाउन्टमाथि हुनसक्ने ह्याकिङको चुनौती अनुगमनको सुनिश्चितता गर्न र उनीहरूलाई टु-फ्याक्टर अथेन्टिकेसन (2FA) मार्फत संरक्षण गर्नु हो । तर अचानक फेसबुकले स्माप ई-मेल जस्तै सेक्युरिटी एट फेसबुकमेल डटकमबाट पठाएका कारण धेरैले त्यसलाई बेवास्ता गरिदिए ।

वास्तवमा उक्त ईमेल स्माप थिएन । प्राप्त ईमेल अनुसार फेसबुक प्रोटेक्ट एक्टिभ नगर्ने प्रयोगकर्ताको फेसबुक अकाउन्ट लक हुन पुग्यो ।

यसरी अकाउन्ट लक भएका थुप्रै प्रयोगकर्ताले आफ्नो फेसबुक अकाउन्टमा पहुँच बनाउन नसकेको उल्लेख गरेका छन् । अकाउन्ट लक हुँदा टु फ्याक्टर अथेन्टिकेसनले समेत काम नगरेको कतिपयको गुनासो छ ।

फेसबुकले त्यस्ता लक भएका अकाउन्टमा कसरी पुनः पहुँच बनाउन सकिन्छ भन्ने विषयमा केही खुलाएको छैन ।

कसरी एक्टिभ गर्ने फेसबुक प्रोटेक्ट ? 

यदि तपाईँले आफ्नो अकाउन्टमा फेसबुक प्रोटेक्ट एक्टिभ गर्नु भएको छैन भने यसका लागि सुरुमा आफ्नो अकाउन्टको सेटिङमा जानुहोस् ।

त्यहाँ तपाईँले सेक्युरिटी एन्ड लग-ईनको विकल्प देख्न सक्नुहुनेछ । त्यसमा ट्याप गरेर फेसबुक प्रोटेक्ट फेला पार्न सकिनेछ । त्यसपछि निर्धारित चरणहरू पूरा गर्दै जानुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३