काठमाडौं । आफ्नो गर्लफ्रेन्ड कहाँ जान्छे, के गर्छे भन्ने कुराको निगरानी गर्न कारमा एप्पल वाच लुकाएर राख्दा एक युवक पक्राउ परेका छन् । यो घटना अमेरिकाको नासभिल सहरको हो ।
२९ वर्षीय लरेन्स वेल्च शुक्रबारमात्रै गाडीमा इलेक्ट्रिक ट्रयाकिङ सिस्टम जडान गरेको आरोपमा पक्राउ परेका हुन् । पीडितले आफूलाई मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेपछि यो विषय सार्वजनिक भएको हो ।
मार्ने धम्की दिएसँगै उनी फ्यामिली सेफ्टी सेन्टरमा पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरु दुवैले ‘लाइफ३६०’ प्रयोग गर्दै आएका थिए, जसमार्फत आफ्नो लोकेसन शेयर गर्न सकिन्थ्यो ।
तर, फ्यामिली सेफ्टी सेन्टर पुग्नुअघि महिलाले त्यसलाई डिएक्टिभेट गरेकी थिइन् । त्योसँगै युवकले उनलाई कल र म्यासेजमार्फत लाइफ३६० एक्टिभ गर्न आग्रह गरेका थिए ।
उनले त्यसलाई अस्वीकार गरेपछि वेल्च आफैं फ्यामिली सेफ्टी सेन्टरमा पुगे । तर भित्र भने पसेनन् ।
उनले केटी साथीको गाडीको टायरको भित्री भागमा एप्पल वाच राखेर हिँडे । जसमार्फत केटी साथी कहाँ जान्छिन् भन्ने विषयको जानकारी लिन्थे । पछि अध्ययन गर्दा उक्त वाच वेल्चकाे रहेको खुलेकाे प्रहरीले जनाएको छ ।