close

बुलेट रेलभन्दा पनि तीव्र गतिमा कुद्ने ‘हाइपर लुप’ के हो ? कसरी गर्छ काम ?

टेकपाना टेकपाना

चैत १६, २०७८ १०:४७

बुलेट रेलभन्दा पनि तीव्र गतिमा कुद्ने ‘हाइपर लुप’ के हो ? कसरी गर्छ काम ?

काठमाडौं । हामी यस्तो युगमा छौं, जहाँ हामीलाई सबैथोक निकै तीव्र गतिको आवश्यक परिरहेको हुन्छ । चाहे त्यो इन्टरनेटको स्पिड होस् वा अन्य कुनै गाडीको स्पिड, कहीँ कतै यो तीव्र गतिको भए नि हुने भन्ने लागिरहेको हुन्छ ।

यात्रालाई हामीले कल्पना गरेभन्दा तीव्र बनाउने प्रविधि हो हाइपर लुप । दिनानुदिन थुप्रै क्षेत्रमा बढ्दै गएको हाम्रा आवश्यकताले समयको महत्व धेरै नै छ भनेर हामीलाई प्रष्ट बनाइसकेका छन् ।

प्रायः विकसित देशमा समयलाई निकै नै प्राथमिकता दिइन्छ । कम समयमा अत्यावश्यक कामका लागि कहीँ पुग्नुपर्ने अवस्था पनि आइदिन सक्छ । त्यसका लागि हामीलाई तीव्र गतिको साधनको आवश्यकता परिरहेको हुन्छ ।

त्यस्तै यात्रा गर्ने क्रममा ट्राफिक जामका कारण कतिपय अवस्थामा हाम्रो महत्त्वपूर्ण  काम छुटिरहेको हुनसक्छ । ट्राफिक जामकै कारण बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा भएका दुःखद् घटनाका समाचार बेलाबखतमा हामीले पढिरहेका हुन्छौं ।

त्यसैले यस्ता समस्याबाट मुक्ति पाउन विभिन्न कालखण्डमा उच्च प्रविधि र उच्च सुविधा भएका गाडी विकसित भइरहेका छन् । सामान्य गोरुगाडादेखि तीव्र गतिका बुलेट रेल र म्याग्नेटिक रेलसम्म विकास भइसकेका छन् ।

म्याग्नेटिक रेलको गतिभन्दा पनि तीव्र गति भएको प्रविधि हो, हाइपर लुप । हाइपर लुप निकै नयाँ र रोमाञ्चक प्रविधि हो । यसका बारेमा जानिसकेपछि के साँच्चै हामी बुलेट रेलभन्दा पनि तीव्र गतिको गाडीमा बस्न पाउँछौं भन्नेबारे सोच्न बाध्य हुन्छौं ।

यसले कसरी काम गर्छ होला ? वा यो सम्पन्न हुन कति समय लाग्छ होला ? यसको परिकल्पना कसले गर्‍यो होला ? यसलाई कसले अस्तित्वमा ल्याउँदै छ होला ? यसको विकासको क्रम कहाँसम्म पुगेको छ होला ? यही प्रश्नका उत्तर तपाईं यहाँ पाउन सक्नुहुन्छ ।

हाइपर लुप भनेको के हो ?

साधारण गाडीमा प्रमुख दुई समस्या हुन्छन्, एउटा फ्रिक्सन र अर्को एयर रेसिस्टेन्स, जसले गाडीको स्पीड निकै कम गराइरहेका हुन्छन् ।

त्यही समस्यालाई समाधान गरेर तीव्र गति भएका गाडी हुने प्रविधि हो हाइपर लुप । जसले गर्दा आज अस्तित्वमा भएका उच्च गतिका गाडीको भन्दा कयौं गुणा बढी हाइपर लुपको गति हुन्छ ।

हाइपर लुप कस्तो देखिन्छ होला ?

हाइपर लुपमा एउटा लामो भ्याकुम ट्युब र क्याप्सुल जस्तो कम्पार्टमेन्ट हुन्छ । जसलाई पड (Pod) भनिन्छ । यी पडहरू भ्याकुम ट्युबभित्र तीव्र गतिमा चल्छन् । यात्रीहरूलाई यीनै पडमा बसाएर यात्रा गराइन्छ ।

यीनै ट्युबलाई लुप भन्ने गरिन्छ । यस प्रविधिमा ट्रान्सपोर्ट लुपमा हुने भएकाले यस प्रविधिलाई हाइपर लुप प्रविधि भनिन्छ ।

हामीमध्ये प्रायः धेरैले भ्याकुम प्रयोगशालामा मात्र बनाएको देखेका छौं होला । वा भ्याकुमका बारेमा कतै सुनेका छौं होला । भ्याकुम एउटा यस्तो अवस्था हो, जहाँ हावाको मात्र शून्य हुन्छ ।

तर, हाइपर लुपमा भने केही प्रतिशत हावा यसैमा छाडिन्छ । हावा कम हुनु नै फ्रिक्सन कम हुनु हो । फ्रिक्सन कम भयो भने गति बढ्छ र उच्च गतिमा कम ऊर्जा खपत हुन्छ ।

यसले कसरी काम गर्छ होला ?

कुन ठाउँदेखि कुन ठाउँसम्मको बनाउने भन्ने कुरा निर्धारण गरि एउटा लामो ट्युब प्रयोग गरिन्छ । जो पिल्लरमाथि राखिएको हुन्छ । यस ट्युबमा थुप्रै पड एक्लै एक्लै यात्रा गरिरहेका हुन्छन् । प्रत्यक पडमा निश्चित यात्रीहरू यात्रा गर्न पाउँछन् ।

त्यही पडहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने गर्छन् । हाइपर लुपमा दुई प्रकारका प्रविधि प्रयोग गरिन्छ । एउटा चुम्बकीय लेबिटेसन र अर्को एयर प्रेसर ।

यसले गर्दा पड र ट्युबबीच फ्रिक्सन कम हुन्छ । जसले गर्दा पडको स्पिड म्याग्नेटिक ट्रेनको भन्दा पनि धेरै हुन्छ । त्यस्तै हाइपर लुपको गति १२ सय किलोमिटर प्रति घन्टा रहेको हुन्छ । यसको अर्थ हाइपर लुप साउन्डकै गतिमा यात्रा गर्न सक्छ ।

त्यस्तै सो ट्युबमा चल्ने पडमा दुई प्रकारका फोर्स लाग्ने गर्छ । एउटा म्याग्नेटिक फोर्स र अर्को एयर फोर्स । जसले पडलाई अगाडि बढाउन मात्र नभइ हावामा उठाउन पनि सहयोग गरिरहेको हुन्छ । हाइपर लुप एउटा यस्तो प्रकृति म्याग्नेट ट्रेन हो जसलाई भ्याकुम ट्युबमा चलाउने गरिन्छ ।

संसारमा भ्याकुम ट्युबलाई कसले परिचित गरायो ?

संसारमा सबैभन्दा तीव्र गति भएको हाइपर लुप सबै जनमानसमा कसले परिचित गरायो होला ? आखिर को हो त्यो व्यक्ति, जसले वर्षौँअघि तीव्र गतिमा चल्ने गाडीको परिकल्पना गरेको थियो ? अचम्मको कुरा के छ भने हाइपर लुपको अवधारणा करिब २०० वर्ष पहिले आएको हो ।

सन् १७९९ मा ब्रिटिश आविष्कारक जर्ज मेडह्रष्टले ट्रान्सपोर्टेसन सिस्टमको रुपमा एक एयर प्रपल्सन ट्युबको पेटेन्ड दर्ता गराएका थिए । त्यसको २१४ वर्षपछि सन् २०१३ मा टेस्ला मोटर र स्पेस एक्सका संस्थापक तथा सीईयो एलन मस्कले हाइपर लुपको डिजाइन पेज गरेका थिए । उनको यो विचारले विश्वभर सकारात्मक प्रतिक्रिया बटुल्न सहयोग गर्‍यो । 

एलन मस्कका अनुसार हाइपर लुप बुलेट ट्रेनभन्दा निकै सुरक्षित तथा भरपर्दो र वातावरणमा अन्य साधनभन्दा कम असर गर्नेछ । एलन मस्कको हाइपर लुप प्रविधि ओपन सोर्सको प्रविधि हो ।

भन्नुको अर्थ हाइपर लुप बनाउने अधिकार एलन मस्कले सम्पूर्णमा बाँडेका छन् । जसले गर्दा हाइपर लुप बनाउने काम केही सकारात्मक होस् । र, चाँडै हाइपर लुप दुनियाँका सामु आइपुगोस् । त्यसैको परिमाण स्वरूप आज धेरै कम्पनी हाइपर लुप प्रविधि भित्र्याउन निकै मेहेनत गरेर लागिपरेका छन् ।

केही कम्पनीहरू जस्तै भर्जिन हाइपर लुप वान, एचटीटी, ट्रान्सपोड रएरिभो जस्ता कम्पनी हाइपर लुप प्रविधि निर्माण गर्न लागिरहेका छन् । 

यी कम्पनीले निर्माण गर्न लागेको हाइपर लुपको आधारभूत उपाय यी सबै कम्पनीको समान रहनेछ । तर, त्यसलाई निर्माण गर्न प्रयोग हुने प्रविधि भने फरक-फरक देख्न सकिनेछ । यसबाट के अनुमान गर्न सकिन्छ बने छिट्टै हामीले हाम्रा अघि हाइपर लुप प्रविधि देख्ने मौका पाउने छौँ ।

गत वर्ष भर्जिन हाइपर लुप कम्पनीले यसको सफल परीक्षण समेत गरिसकेको छ । हाइपर लुपबारे धेरै काम अघि बढिसकेको भए पनि सन् २०३० भन्दा अघि सबैका लागि उपलब्ध हुने कुरामा भने शङ्का नै छ ।

हाइपर लुपका फाइदा के के छन् ?

 हाइपर लुपका धेरै फाइदाहरू छन् । त्यसका केही फाइदाहरू तल उल्लेक गरिएका छन् ।

  • हामी घन्टौँ लाग्ने यात्रा केही मिनेटमा नै तय गर्न सक्छौँ ।
  • यो अन्य माध्यमभन्दा निकै नै सुरक्षित हुनेछ ।
  • यसमा हामी जतिबेला मन लाग्यो यात्रा गर्न सक्छौँ ।
  • देख्नमा यो निकै महँगो प्रविधि लागे पनि अहिलेका बुलेट ट्रेनको भन्दा पनि सस्तो रकममा यात्रा गर्न सकिनेछ ।
  • यो भूकम्प र अन्य विपद्‌मा समेत सुरक्षित हुनेछ ।
  • यो वातावरण मैत्री हुनेछ । यसबाट न ध्वनि प्रदूषण हुन्छ न त अपशिष्ट उत्पादन उत्सर्जन धेरै हुन्छ ।
  • यसले कम ऊर्जा खपत गर्नेछ ।

हाइपर लुपका बेफाइदाहरू के के छन् ?

संसारमा भएका सबै कुराले फाइदा दिन्छन् भन्ने हुँदैन । कहिँकतै हाम्रा लागि यी हानिकारक वा यसका बेफाइदा पनि हुन सक्छन् । यसका बेफाइदाहरू निम्नुसारका छन् ।

  • क्याप्सुलमा निकै कम स्पेस हुने भएकाले मुमेन्ट गर्न सम्भव नै हुँदैन ।
  • यसको स्पिड धेरै हुने भएकाले सुरुवातीमा यात्रुलाई रिङ्गटा लाग्न सक्छ । पछि बानी परेपछि भने कम हुन सक्छ ।
  • हुनसक्छ यस प्रविधिलाई लागू गर्न धेरै नै बोट बिरुवा काट्नपर्ने हुन सक्छ । सुरुवातमा वातावरणका लागि यो खराब सावित हुनसक्छ ।

यस प्रविधिलाई अस्तित्वमा आउनका लागि धेरै नै चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । जस्तै व्यापक पूर्वाधारको आवश्यकता, पृथ्वीको तापक्रम घटबढ भइरहने भएकाले त्यसको ट्युबमा पर्न जाने नकारात्मक असर हुनसक्छ । यदि यी समस्या समाधान भए भने चाँडै नै हाइपर लुप अस्तित्वमा आउन सक्छ । हाइपर लुप प्रविधिलाई अस्तित्वमा ल्याउन सबैभन्दा बढी लागिपरेका व्यक्ति एलन मस्क हुन् । नयाँ प्रविधिमा निर्माण हुन लागेको हाइपर लुपको श्रेय एलन मस्कलाई जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३