close

‘मेन फिड’बाटै इन्स्टाग्राम डीएमको रिप्लाई दिन सकिने

टेकपाना टेकपाना

चैत १८, २०७८ १०:३७

‘मेन फिड’बाटै इन्स्टाग्राम डीएमको रिप्लाई दिन सकिने

काठमाडौं । इन्स्टाग्रामले आफ्नो प्लेटफर्ममा डाइरेक्ट मेसेज गर्न नयाँ विकल्प उपलब्ध  गराउने भएको छ । एपले इनबक्समा नगएर तथा आफू भएको स्थानबाट बाहिर नगएर तत्कालै डीएमको रिप्लाई दिन सकिने उपयोगी फिचर ल्याउन लागेको हो ।

यसका साथै एपमा गीतको प्रिभ्यु र ग्रुप च्याटमा गरिएको पोल शेयर गर्ने नयाँ अप्सन समेत पाउन सकिनेछ । इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले गत डिसेम्बरमै इन्स्टाग्रामको यस वर्षको अभिप्राय मेसेजिङमा केन्द्रित रहने घोषणा गरिसकेका छन् ।  

‘मानिसहरूका लागि एक अर्कासँग सम्पर्कमा रहने प्राथमिक तरिका भनेकै मेसेजिङ नै हो,’ उनले भनेका छन्, ‘मेसेजिङ सञ्चारका लागि प्राथमिक चिज भएको कुरालाई इन्स्टाग्रामले अङ्गाल्न जरुरी छ ।’

‘सङ्‌ग’ प्रिभ्यु फिचरले एप्पल र अमेजनको म्युजिक स्ट्रिमिङसँग इन्टिग्रेसन गर्दै ट्र्याकको ३० सेकेन्ड लामो क्लिप शेयर गर्ने सुविधा दिनेछ । चाँडै नै स्पोटीफाईको सपोर्ट समेत उपलब्ध हुने बताइएको छ ।

यसका साथै इन्स्टाग्रामको मुख्य फिडबाटै शेयर बटनमा लामो समय थिचेर नयाँ मेनुमा पहुँच बनाउन सकिनेछ, जसले तपाईँलाई आफ्ना नजिकका चार जना साथीलाई तुरुन्तै रिशेयर गर्ने सुविधा दिनेछ । अन्य फिचरको रुपमा फेसबुक मेसेञ्जरमा यस अघि नै उपलब्ध फिचर समेत इन्स्टाग्रामको डीएममा आउने क्रममै रहेका छन् ।

त्यसो त कम्पनीले यस अघि देखि नै इन्स्टाग्राम र मेसेञ्जरको च्याट फिचरलाई एक अर्कासँग कम्प्याटिबल बनाउने काम गर्दै आएको छ । तपाईँका कुन कुन साथीहरू तत्काल अनलाइनमा छन् भन्ने कुराका लागि इनबक्सको माथि प्रोफाइल पिक्चरको लाइन थप गर्दैछ ।  

यसका साथै मेसेञ्जरको पोल फिचर समेत रहनेछ । यस अघि नै भएको घोषणा अनुसार कन्ट्याक्टका लागि नोटिफिकेसन बिना नै चुपचाप मेसेज पठाउन सकिने मेसेञ्जरको नयाँ शर्टकट समेत इन्स्टाग्राममा उपलब्ध हुनेछ । जसका लागि @silent कमान्ड प्रयोग गर्नुपर्नेछ ।

इन्स्टाग्रामका अनुसार यी मध्ये अधिकांश फिचर विश्वव्यापी रुपमा नै उपलब्ध भइसकेका छन् । म्युजिक शेयरिङ फिचर भने बिहीबारदेखि सुरु भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३