काठमाडौं । प्रविधिको दिग्गज कम्पनी माइक्रोसफ्ट आफ्ना विभिन्न प्रविधिमार्फत विश्व बजारमा तहल्का मच्चाउँदै गर्दा ब्राउजरमा भने सोचे अनुरूपको सफलता हात पार्न सकिरहेको छैन । हुन त कुनै समय माइक्रोसफ्टको ‘इन्टरनेट एक्सप्लोर’ विश्वमा सबैभन्दा बढी प्रयोग हुने वेब ब्राउजर थियो ।
तर, समय अनुसार आफूलाई परिवर्तन गर्न नसक्दा आज ब्राउजरको बजारमा माइक्रोसफ्ट धेरै पछि परेको छ । गुगल क्रोम, मोजिल्ला, ब्रेभ, ओपेरा जस्ता ब्राजिङ एप निकै अघि छन् ।
कम्पनीको पुरानो ब्राउजर ‘इन्टरनेट एक्सप्लोर’ बन्द नै भइसकेको छ । इन्टरनेट एक्सप्लोरलाई बन्द गरेर क्रोमियममा आधारित माइक्रोसफ्ट एज प्रयोगकर्तामाझ उपलब्ध गराइएको छ ।
गुगल क्रोमको क्रोमियम प्रविधिलाई आत्मसाथ गर्दै कम्पनीले बजारमा नयाँ ब्राउजर प्रस्तुत गरेको हो । यो नयाँ अग्रसरतासँगै एजले विस्तारै प्रयोगकर्ता बटुलिरहेको छ ।
पछिल्लो समयमा माइक्रोसफ्ट एज प्रयोग गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ । तर, गुगल क्रोमको तुलनामा भने निकै न्यून रहेको छ ।
आज गुगल क्रोमले विश्व बजारमा ९० प्रतिशत हिस्सा ओगट्दा माइक्रोसफ्ट एज जम्मा तीन प्रतिशतको हाराहारीमा सीमित छ । यस्तोमा गुगलसँगको प्रतिस्पर्धा माइक्रोसफ्टका लागि चुनौतीको विषय हो ।
तर, गुगलले प्रयोगकर्ताको गोपनीयता कायम राख्न नसकेको गुनासो आइरहँदा माइक्रोसफ्टका लागि यो राम्रो अवसर हुन सक्छ । त्यसैले पनि कम्पनी समय समयमा आफ्ना ग्राहकलाई विभिन्न फिचर उपलब्ध गराउँदै आएको छ ।
यही क्रममा कम्पनीले अब पुनः प्रयोगकर्तालाई केही नयाँ खुराक पस्किने जमर्को गरेको देखिन्छ । केही दिन अघि मात्र कम्पनीको डेभलपर ट्वीट ह्याण्डलमार्फत ‘समथिङ इज कमिङ’ भन्दै केही नयाँ परिवर्तनको जनाउ दिइएको छ ।
Something is coming!
But before we go there, can you tell which of the below is the correct Microsoft Edge logo? Check it out and see if you get it right 💯 pic.twitter.com/m9qr9jiZDD
उक्त ट्वीटसँगै कम्पनीले माइक्रोसफ्ट एजका विभिन्न लोगो राखेर एजको सही लोगो कुन हो भन्दै पहिचान गर्न समेत प्रयोगकर्तालाई आग्रह गरेको छ । यसको उद्देश्य के हो भन्ने अझै पनि खुल्न सकेको छैन ।
साथै नयाँ के आउँदै छ भन्ने विषयमा पनि कुनै यकिन जानकारी छैन । तर, माइक्रोसफ्टले हालसम्मको सबै लोगो राखेर पहिचान गर्नको लागि प्रयोगकर्तालाई आग्रह गरिरहँदा कतै लोगो नै परिवर्तनको तयारी भइरहेको त छैन भन्ने भन्ने विषयमा धेरैको चासो छ ।