काठमाडौं । हामी दिनहुँजसो फेसबुक मेसेन्जर प्रयोग गरिरहेका हुन्छौं । त्यसमा अनेकौँ फिचरहरू छन् । हामीलाई त्यसमध्ये केही फिचर थाहा नहुन सक्छ । आज हामी फेसबुक मेसेन्जरमा भएको ‘साइलेन्ट’ फिचरबारे चर्चा गर्दैछौँ ।
सामाजिक सञ्जाल फेसबुक जति परिचित छ, त्यति नै त्यसको मेसेजिङ एप मेसेन्जर पनि लोकप्रिय छ । समयसमयमा आउने अपडेटसँगै नयाँनयाँ फिचरहरू थपिइरहेका हुन्छन् ।
कतिपय अवस्थामा नयाँ फिचर हाम्रो फोनमा भएको एपमा आइसके पनि हामी त्यसबारे अनविज्ञ हुन्छौँ । हामीले आक्कल झुक्कल देखिरहेको भए पनि त्यसको बारेमा हामी त्यति जानकार नहुन सक्छौँ ।
कतिपय यस्ता महत्त्वपूर्ण फिचरहरू पनि हुन्छन्, जो हामीलाई निकै उपयोगी हुन सक्छन् । एपमा हुने ससाना त्यस्ता फिचरले हाम्रो शालिनता र संवेदनशीलता समेत देखाउन सक्छन् ।
त्यस्तै उपयोगी फिचरमध्येको एक हो, मेसेन्जरको ‘साइलेन्ट’ फिचर । यसले गर्दा मेसेज पाउने व्यक्तिको मोबाइल वा कम्प्युटरमा मेसेन्जरमा मेसेज त आउँछ, तर त्यसको नोटिफिकेसन भने जाँदैन ।
नोटिफिकेसन नै नजाने फिचर कसरी उपयोगी हुनसक्छ भन्ने पनि लाग्न सक्छ । तर, यसलाई गहिरिएर हेर्ने हो भने यो निकै उपयोगी सावित हुन सक्छ ।
यदि तपाईँले केही कुरा रातिको समयमा सम्झिनु भयो र अर्को व्यक्तिलाई सुनाउन चाहनु भयो । रातको समयमा मेसेन्जरको नोटिफिकेसनको आवाजले पाउने मान्छेको निन्द्रा बिथोलिन सक्छ ।
रातमै मेसेज किन पठाउने, कतै लेखेर बिहान पठाउँदा पनि भयो भन्ने सोच आउन सक्छ । के थाहा बिहान पठाउँदा त्यो कुराले महत्त्व नपाउन सक्छ । परिस्थिति जस्तो पनि आइदिन सक्छ ।
रातमै पठाउँदा पनि पाउने व्यक्तिको फोनमा नोटिफिकेसन अन छ भने, ऊ लगायत ऊसँग भएका अन्य मान्छेलाई ‘डिस्टर्ब’ हुन सक्छ । साथै रातिराति मेसेज गर्ने को हो ? भन्ने प्रश्नको उसले सामना गर्नुपर्ने पनि हुन सक्छ ।
यति मात्र नभएर कहिलेकाँही केही सीमित मान्छेहरूबीच छलफल चलिरहँदा, त्यही छलफलमा सहभागी कोही अर्को व्यक्तिलाई त्यो छलफलको विषयमा गोप्य तवरले केही कुरा भन्नुपर्ने हुन सक्छ । उसले फोन प्रयोग गरिरहेको बेला नोटिफिकेसन बज्यो भने छलफलमा सहभागी अरूले सहजै अनुमान गर्न सक्छन् ।
त्यसो नहोस् भन्नका लागि पनि साइलेन्ट फिचर निकै उपयोगी हुन सक्छ । कतिपयको बानी अन्य व्यक्तिको अनुमति बिना नै मेसेन्जरमा अडियो वा भिडिओ कल गरिदिने किसिमको पनि हुन्छ ।
त्यसले गर्दा कल प्राप्त गर्ने व्यक्तिले असहज अनुभव गरेर कल अस्वीकार गरिदिने गर्दछन् । त्यसरी मेसेज पठाउनका लागि अनुमति लिइरहन त सकिँदैन ।
तर, सबैभन्दा पहिले उ कस्तो ठाउँमा छ वा मेसेन्जरको नोटिफिकेसनले कुनै असर गर्छ वा गर्दैन, त्यो चाहिँ ख्याल राख्न सकिन्छ । त्यसका लागि तपाईँले पहिलो मेसेज पठाउँदा साइलेन्ट फिचर प्रयोग गरेर अर्को व्यक्तिको अवस्था बुझ्न सक्नु हुन्छ ।
त्यसपछि मेसेज गर्नुभयो भने त्यस्तो व्यक्तिमा तपाईंको बारेमा राम्रो छवि बन्न सक्छ । यसबाहेक तपाईँलाई धेरैपछि बिना काम कुनै व्यक्तिलाई मेसेज पठाउँन मन लाग्यो । तर, बोल्ने प्रसङ्ग पाउनु भएन ।
त्यस्तोमा यही साइलेन्ट फिचरलाई लिएर कुरा सुरु गर्न पनि सक्नुहुन्छ । कुरा गर्न चाहेको व्यक्तिलाई यो फिचरको बारेमा जानकारी दिएपछि आफूलाई लागेका कुरा गर्न सक्नु हुन्छ ।
त्यसैले कसैसँग मेसेन्जरमा च्याट गर्ने बाहना चाहिएको छ भने यो फिचरको सहयोग लिन सक्नुहुन्छ । (यो चाहिँ ठट्टामा…)
कसरी प्रयोग गर्ने मेसेन्जरको साइलेन्ट फिचर ?
-यसका लागि तपाईँ चाहेको व्यक्तिको नाम मेसेन्जरमा सर्च गरेर च्याट बक्सभित्र प्रवेश गर्नुहोस् । त्यसपछि टेक्ट टाइप गर्ने ठाउँमा गइ ‘@’ (एटदरेट) टाइप गर्नुहोस् ।
– ‘@’ टाइप गरिसकेपछि, त्यहाँ ‘Silent’ (साइलेन्ट) लेखिएको अप्सन देखिन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
-अब आफूले चाहेको मेसेज टाइप गरेर पठाउनुहोस् । याद गर्नुहोस्, यस्तो मेसेज पाउने व्यक्तिको मेसेन्जरमा ‘@Silent’ पनि देखिन्छ । उदाहरणका लगि यदि तपाईँले कसैलाई ‘तिमी कता हराएको आजभोलि?’ भन्दै साइलेन्ट फिचर प्रयोग गरेर मेसेज पठाउनु भयो भने त्यो मेसेज पाउने व्यक्तिले ‘@silent तिमी कता हराको आजभोलि ?’ मेसेज पाउँछ ।