close

अब दुई जना प्रयोगकर्ता मिलेर एउटै ट्वीट गर्न पाइने

टेकपाना टेकपाना

चैत १८, २०७८ २१:३८

अब दुई जना प्रयोगकर्ता मिलेर एउटै ट्वीट गर्न पाइने

काठमाडौं । ट्वीटरले दुई  जना प्रयोगकर्ता मिलेर एउटै ट्वीट गर्न सकिने फिचर ल्याउने भएको छ । माइक्रो ब्लगिङ सामाजिक सञ्जालको रुपमा रहेको ट्वीटरले ल्याउन लागेको को-अथर फिचर इन्स्टाग्रामले गत वर्ष नै ल्याइसकेको थियो ।

एप रिसर्चर एलेसान्ड्रो पलुज्जीले गत डिसेम्बरबाट ट्वीटरको को-अथर फिचर डेभलप हुँदै गरेका प्रमाण सार्वजनिक गर्दै आएका छन् । को-अथर फिचर थुप्रै प्रयोजनका लागि निकै महत्त्वपूर्ण हुन सक्छ । 

दुई जना प्रयोगकर्ताले एउटै पोस्टमा आफ्नो नाम राख्न किन आवश्यक छ भन्ने प्रश्न आउन सक्छन् । को-अथर फिचर ब्रान्ड पार्टनशिप, इन्फ्लुयन्सर क्याम्पियन (Influencer Campaign) जस्ता कामका लागि महत्त्वपूर्ण हुन्छ । 

त्यस्तै कुनै पोस्टमा क्रेडिट दिनु पर्दा वा हास्यास्पद पोस्ट गर्दा यसलाई उपयोग गर्न सकिन्छ । हाल पलुज्जीले (Paluzzi) पोस्ट गरेको स्क्रिनशटलाई आधार मान्ने हो भने को-अथरमा हुन चाहने दुवै प्रयोगकर्ताको अकाउन्ट पब्लिक भएको र एकअर्कालाई फलो गरेको हुनु पर्नेछ ।

को-अथरको रुपमा एड गर्न चाहेको प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई आमन्त्रित (इन्भाइट) गर्नुपर्ने हुन्छ । यदि अर्को प्रयोगकर्ताले इन्भिटेसन स्वीकार गरेको खण्डमा मात्र यो फिचरमा दुवै सहभागी हुन पाउने छन् ।

को-अथरमा भएका दुवै प्रयोगकर्ताको प्रोफाइल पोस्टको सिरानीमा बायाँतिर देखिनेछ । को-अथर फिचर हाल विकासको क्रममा रहेकाले प्रयोगकर्ताले कहिले प्रयोग गर्न पाउँछन् भन्ने यकिन गरेर भन्न सकिने अवस्था छैन ।

यद्यपि ट्वीटरको प्रतिद्वन्द्वी एप इन्स्टाग्राममले पहिले नै को-अथर फिचर ल्याइसकेको भएकाले त्यसलाई ट्व‍ीटरले सोही अनुसारको बनाउन सकिने अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३