close

सामाजिक सञ्जालमा पत्रकार र मिडियालाई कडाइ, पक्ष/विपक्षमा सामग्री पोस्ट गर्न नपाउने

टेकपाना टेकपाना

चैत २६, २०७८ ८:३२

सामाजिक सञ्जालमा पत्रकार र मिडियालाई कडाइ, पक्ष/विपक्षमा सामग्री पोस्ट गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए ।

अब आचारसंहिता लागूभएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक भएको छ । 

आयोगले यसपटक आचार संहितामा सामाजिक सञ्जालका विषय प्राथमिकताका साथ समेटेको छ । आचारसंहिता अनुसार निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा फेक साइट तथा अकाउन्ट बनाउन पाउने छैनन् । त्यस्तै सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाइने कुरा समेत उल्लेख छ ।

यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण तथा हेट स्पिच जस्ता भ्रामक टिकाटिप्पणी गर्ने गराउने कार्यमा समेत आयोगले रोक लगाएको छ ।

त्यस्तै मतदान केन्द्रमा मतदान गर्न जाँदा भ्रामक समाचार वा अफवाह फैलाउँदा समेत निर्वाचन आचार संहिता उलङ्घन मानिनेछ । साथै कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न नपाइने कुरा समेत आचार संहितामा उल्लेख छ ।

यति मात्र होइन पत्रकार तथा सञ्चार माध्यमले कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल आदिको माध्यमबाट कुनै सामग्री सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री समाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५