काठमाडौं । फिल्म हेर्ने सबैका आ-आफ्नै चाहना र रहर हुन्छन् । आफूले कुन समयमा कस्ता फिल्म हेरेका थियौँ भनेर बेलाबखत जान्न खोजिरहेका हुन्छौँ । डायरीमा नोट गरेर राख्न पनि खासै समय हुँदैन वा आफ्नै व्यस्तताले लेख्न पाएका हुँदैनौं ।
कतिपय फिल्महरू पटक पटक हेरिरहन मन लाग्ने किसिमका हुन्छन् । जो केही समयपछि हेर्ने भनेर साँचिएका हुन्छन् । त्यस्तै केही फिल्म पछि हेर्ने भनेर डाउनलोड गरियो, तर, फिल्म पहिले नै हेरिसकेको भएकाले पुनः हेर्न मन नलाग्ने पनि हुनसक्छ ।
यसका लागि गुगलको वाचलिस्ट फिचर निकै उपयोगी हुन सक्छ । कतिपय फिल्म साथीभाइले हेर्ने भनेर सुझाव दिएका हुन्छन् तर समय नमिलेर हेर्न नपाएको हुनसक्छ । तर, पछि फिल्मको नाम, कसले हेर्न सुझाव दिएको भन्ने नै बिर्सिएर सो फिल्म हेर्ने चाहना अधुरै हुनसक्छ । यसका लागि पनि गुगलको वाचलिस्ट फिचर आवश्यक पर्छ ।
के हो गुगलमा भएको माई वाचलिस्ट फिचर?
आफूले हेरेका फिल्म गुगलको एउटा फोल्डरमा राख्न सकिने फिचर नै माई वाचलिस्ट फिचर हो । यसको माध्यमबाट हामी आफूले हेरिसकेका फिल्म सो फोल्डरमा राख्न सक्छौँ । आफूले त्यतिका दिनसम्म कति फिल्म हेरियो भन्ने कुरा जान्नका लागि वाचलिस्ट फिचरको सहयोग लिन सकिन्छ ।
कतिपय अवस्थामा हामी आफूले हेर्ने गरेका फिल्म अरूलाई हेर्न सुझाव दिन सक्छौँ । तपाईंले हेर्ने गरेका फिल्मले तपाईंको बानी कस्तो छ वा तपाईं कस्तो प्रकृतिको मानिस भन्ने कुरा निर्धारण गर्छ । यसकारण पनि वाचलिस्टमा आफूले हेरेका फिल्मको नाम वाचलिस्टमा राख्न पर्छ ।
वाचलिस्टमा आफूले हेरेको फिल्म राख्न सबैभन्दा पहिले गुगल सर्च बक्समा जानुहोस् । त्यसमा गएर आफूले जुनसुकै प्लेटफर्ममा हेरेको फिल्म सर्च गर्नुहोस् । फिल्म सर्च गरिसकेपछि त्यो फिल्मको बारेमा रिजल्ट आउँछ ।
फिल्मको ब्यानर तल केमा हेर्न सकिन्छ (नेटफिल्क्स, अमेजन, युट्युव वा अन्य साइट) भन्ने देखाइएको हुन्छ । त्यसको छेउमा वाच इट (watch it) को अप्सन हुन्छ भने अन्तिममा वाच लिस्ट देखाइएको हुन्छ ।
आफूले फिल्म हेरिसकेको छ भने वाच इटमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि वाचलिस्टमा क्लिक गर्नुभयो भने सो फिल्म तपाईंको वाचलिस्टमा सेभ भएर बस्छ ।
आफ्नो वाचलिस्टमा कुन कुन फिल्म छन् भन्ने जान्न तपाईंले गुगल सर्च बक्समा माई वाचलिस्ट (My watch list) टाइप गरेर सर्च गर्नुपर्ने हुन्छ । तपाईंले वाच लिस्टमा राखेका फिल्महरू त्यही देखिनेछन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
