काठमाडौं । बजारमा उपलब्ध हुने अनलाइन तथा भौतिक दुवै प्रकारका पात्रोहरूमा तिथी मितीमा एकरूपता नआएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कुनै प्रकारको निजी अथवा व्यवसायिक पात्रो छाप्नु अघि समितिको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।
नेपाल सरकारको निर्णय बिना नै विदाहरू थप गरी क्यालेन्डर अथवा पात्रो बनाउने, तिथी मिति फरक पर्ने गरी पात्रो बनाउने लगायत अनैतिक कामलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
‘सबैप्रकारका पात्रोहरूमा एकरूपता ल्याउनको लागि हामीले यो निर्णय गरेका हौँ,’ उनले भने, ‘फागुनमा स्वीकृति सम्बन्धी सूचना प्रकाशन गरेदेखि हालसम्म ५० भन्दा बढी संस्था तथा व्यापारीहरूले स्वीकृति लिइसकेका छन् ।’
स्वीकृति नलिनेहरूको हकमा भने हाल अनुगमन भइरहेको र स्वीकृति नलिई क्यालेन्डर छापेको पाइएमा पहिलो चरणमा मौखिक चेतावनी दिइने उनले बताए ।
‘अनलाइन माध्यमबाट क्यालेन्डर प्रकाशित गर्ने संस्थाहरूको हकमा भने कस्तो किसिमको कदम चाल्ने भन्ने विषयमा हाल हामी छलफलमा छौँ । यद्यपि यस विषयमा पनि हामी छिट्टै नै निर्णय लिन्छौँ,’ उनले थपे ।
उनका अनुसार उपत्यका भित्र तथा नजिकका कम्पनी, संस्था तथा व्यापारीहरूले समितिको कार्यालय नारायणहिटी दरबारमै आएर स्वीकृतिको लागि निवेदन दिन सक्नेछन् । तर उपत्यका भन्दा बाहिरका लागि भने अनलाइन माध्यमबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको उनले बताए ।
यसका लागि सम्बन्धित कम्पनी तथा संस्थाको विवरण सहित क्यालेन्डर छाप्न लागेको विषयमा जानकारी सहित एक निवेदन दिनु पर्नेछ । त्यसका लागि आवश्यक शुल्क नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सिद्धार्थ बैंकमा रहेको खाता ००११५४३२८६३ मा अनलाइनबाटै बैंक ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत जम्मा गरी त्यसको भौचर समेत पठाउनु पर्नेछ ।
अनलाइन आवेदन दिन यहाँ क्लिक गरी ईमेल गर्न सकिनेछ । स्वीकृति लिनको लागि हाल निजी प्रयोजनको लागि पाँच हजार रुपैयाँ र व्यवसायिक प्रयोजनका लागि दश हजार रुपैयाँ शुल्क तोकिएको छ ।