काठमाडौं । सम्भवतः विश्वभर लाखौँ आईफोन प्रयोगकर्ताहरू छन्, एन्ड्रोइडका लागि आईफोन त्याग्ने विषयमा सोचिरहेका होलान् । तर आईफोनमा रहेको आफ्नो डेटा एन्ड्रोइडमा ट्रान्सफर गर्दा हुने तनावले उनीहरूको त्यस किसिमको सोचलाई रोकिरहेको हुनसक्छ ।
तर अब त्यस्ता प्रयोगकर्ताको तनाव दूर भएको छ । यसका लागि गुगलको बहु प्रतिक्षित अन्ततः ‘स्विच टु एन्ड्रोइड’ एप आएको छ । यससँगै अब आईफोन प्रयोगकर्ताले आफ्नो अभिन्न डेटा सहजै एन्ड्रोइडमा स्थानान्तरण गर्न सक्नेछन् ।
तर रोचक कुरा के छ भने गुगलले अहिलेसम्म यो नयाँ एप्लिकेसनको घोषणा भने गरिसकेको छैन । उक्त कुरा प्रक्रियामै रहेको बताइएको थियो ।
तर यो एप अहिले औपचारिक घोषणा नहुँदै एप्पल एप स्टोरमा लाइभ भइसकेको छ । यो एप गुगलको सम्बन्धित वेबसाइटमा सूचिकृत भएको छैन । न त एप स्टोरमा सर्च गर्दा नै देखा पर्छ ।
यद्यपि यो एप आईओएस एप स्टोरमै उपलब्ध छ । उल्लेखनीय कुरा के छ भने यो एपका लागि एप्पलको आफ्नै भर्सनको एप सन् २०१५ देखि गुगल पले स्टोरमा उपलब्ध छ । यो विषयमा गुगल केही पछि परेको छ, यद्यपि अन्ततः गुगलको एप समेत आएको छ ।
स्विच टु एन्ड्रोइड एपले के काम गर्छ ?
आधारभूत रुपमा यो एपले आईफोनबाट महत्त्वपूर्ण डेटा गुगल ड्राइभमा सार्ने काम गर्दछ । त्यसपछि जब तपाईँ एन्ड्रोइड फोन लिएर चलाउन थाल्नुहुन्छ, त्यसपछि यसले गुगल ड्राइभमा भएको डेटा तान्छ र त्यसलाई सिङ्क गराउँछ ।
यसले केबल बिना नै सबै चिज ट्रान्सफर गर्ने सुविधा दिन्छ । साथै त्यसका लागि तपाईँसँग दुवै फोन एकसाथ हुन जरुरी समेत हुँदैन । यसरी तपाईँले कन्ट्याक्ट्स, क्यालेन्डर, फोटो तथा भिडिओ र टेक्स्ट मेसेज ट्रान्सफर गर्न सक्नुहुन्छ ।
तर स्विच टु एन्ड्रोइड एपले एपहरू भने स्थानान्तरण गर्ने छैन । हुन त आईफोनमा रहेका अधिकांश एपहरूको एन्ड्रोइड भर्सन तथा त्यस समानका एपहरू उपलब्ध नै हुन्छन् ।