close

३५ करोडमा किनेको ज्याक डोर्सेको पहिलो ट्वीटको एनएफटी मूल्य ८ लाखमा झरेपछि

टेकपाना टेकपाना

बैशाख २, २०७९ १२:५९

३५ करोडमा किनेको ज्याक डोर्सेको पहिलो ट्वीटको एनएफटी मूल्य ८ लाखमा झरेपछि

काठमाडौं । सन् २०२१ मा सिना एस्ताभी नामक एक क्रिप्टो लगानीकर्ताले सञ्चार माध्यममा राम्रो ठाउँ पाए । कारण थियो, उनले २९ लाख डलर (३५ करोड ६३ लाख रुपैयाँ) मा खरिद गरेको ट्वीटरका संस्थापक ज्याक डोर्सेको पहिलो ट्वीटको एनएफटी ।

तर अब उनी यो एनएफटी बिक्री गर्न चाहन्छन् । यसको लागि उनले लिलामीको तयारी गरेका छन् । डोर्सेको पहिलो ट्वीटको एनएफटीको बोलकबोलको मूल्य ६,८०० डलर अर्थात आजको विनिमय दर अनुसार आठ लाख ३५ हजार ५०० रुपैयाँबाट सुरु हुँदैछ ।

उनले यो एनएफटी खरिद गर्दा नन-फन्जिबल टोकन अथवा एनएफटी निकै चर्चामा थियो, जसले गर्दा बजारमा यसको मूल्य पनि निकै नै महँगो थियो ।

यही महँगोमा खरिद गरिएको एनएफटीलाई अहिले एस्ताभीले बिक्री गर्न लागेका हुन् । गत हप्ता उनले आफ्नो ट्वीटमार्फत एनएफटीको मार्केटप्लेस ओपनसीमा ज्याक डोर्सेको पहिलो ट्वीटको एनएफटीको पुनः बिक्रीको लागि राखिएको बताएका थिए । जसको सुरुवाती मुल्य थियो, चार करोड ८० लाख डलर ।

तर पुनः बिक्रीमा राखिएको एनएफटीको मूल्य एक हप्तामा नै हटाइयो । किनभने उनले राखेको बोलकबोलको मूल्यको सबैभन्दा धेरै मूल्य नै २.२ इथर थियो, जसको मूल्य अहिले ६,८०० डलर मात्र छ । आफूले पुनः बिक्री गर्न लागेको एनएफटीको मूल्य निकै नै धेरै भएको र सबैले यसलाई खरिद गर्न सक्ने स्थिति तरहेको उनले बताएका छन् ।

साथै यो एनएफटी बिक्री गर्ने कि नगर्ने भन्ने कुरामा पनि उनी अन्यौलमा रहेको उनले बताएको रोयटर्समा छापिएको छ । एनएफटी क्रिप्टो सम्पत्तिको एक प्रकार हो जसमा फोटो, भिडियो वा अन्य दस्तावेजहरूको डिजिटल फाइलको स्वामित्व रेकर्ड गर्ने गरिन्छ । यसको मूल्यको कुनै निश्चितता हुदैन ।

यद्यपि एस्तावी आफ्नो एनएफटीको राम्रो मूल्य पाउनेमा विश्वस्त थिए । मलेसियामा बस्दै आएका इस्ताभीले आफूलाई गत मे महिनामा इरान भ्रमणका क्रममा पक्राउ गरिएको बताएका छन् । उनी फेब्रुअरीमा रिहा भएका थिए ।

इरानको सरकारी मिडियाले मे २०२१ मा उनलाई ‘देशको आर्थिक प्रणालीमा बाधा पुर्‍याएको’ आरोप लागेको बताएको थियो । इस्तावीका अनुसार उनको क्रिप्टो कारोबारको कारण उनी पक्राउ परेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४