close

अनलाइनको साटो नगदै बोक्न बाध्य पार्ने अध्यागमनको निर्णय खारेज

टेकपाना टेकपाना

बैशाख ५, २०७९ २०:२१

अनलाइनको साटो नगदै बोक्न बाध्य पार्ने अध्यागमनको निर्णय खारेज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी झन्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउनुपर्ने बाध्यता सिर्जना गरेको थियो । तर अध्यागमनको उक्त निर्णयको चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले त्यसमाथि हस्तक्षेप गरेको छ ।

विमानस्थल अध्यागमनमा राखिएका बैंकका एटीएममा समस्या आएको र भिसा वापत रकम भुक्तानीमा समय लागेको भन्दै विमानस्थल अध्यागमन कार्यालयले शुक्रबारदेखि विदेशी नागरिक विमानस्थलबाटै अनअराइभल भिसा लिने गरी आउँदा दुई सय अमेरिकी डलर साथमै बोक्नुपर्ने निर्णय गरेको थियो ।

यसका साथै सफ्टवेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको भन्दै पर्यटकको सहायताका लागि नगद नै ल्याउन अनुराेध गरिएकाे विमानस्थलको तर्क थियो । तर त्यसको भोलिपल्टै गृहमन्त्रालयले अध्यागमन कार्यालयबाट भएको उक्त निर्णय खारेज गर्दै पहिलेकै सेवा छिटो छरितो र चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो ।

एटीएम मसिन, मास्टर कार्ड, भिजा कार्ड तथा विद्युतीय कारोबारका अन्य माध्यममा कुनै समस्या आएको खण्डमा अध्यागमन विभाग, विमानस्थल अध्यागमन कार्यालय र विमानस्थल प्रशासनबीच समन्वय गर्ने निर्णय समेत गृहमन्त्रालयले गरेको छ ।

त्यस्तै हाल अध्यागमन डेस्क सञ्चालनमा रहेका चार एटीएम मसिनलाई बढाएर छ पुर्‍याइने र भुक्तानीका लागि आगमन तथा प्रस्थान कक्षमा भिसा, मास्टर कार्ड रिड गर्ने थप दुई पस मसिन बढाउने निर्णय समेत गरिएको अध्यागमन विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२